किन फर्क्यो सिरियाबाट अमेरिकी सेना ?

military-guns-less
रासस न्यूज

काठमाडौं, ७ पुस । सन् २०११ मा शुरू भएको सिरियाको गृहयुद्धमा विपक्षीहरूलाई सहयोग गर्दै आएको अमेरिकी सेनाले सिरियाली जनताका माग सम्बोधन नगराई आफ्नो सेनालाई फर्काउने विषयले यो साता निकै स्थान पाएको छ ।

आठ वर्षको समयमा पाँच लाखभन्दा बढी सिरियालीले ज्यान गुमाएका छन् । एक करोड ८३ लाख जनसङ्ख्या रहेको सिरियामा झण्डै आधा जनसङ्ख्या आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेको छ । सिरियाको प्राय क्षेत्रका प्राचीन एवं सांस्कृतिक महत्वका संरचनाहरू ध्वस्त बनेका छन् । हजारौँको सङ्ख्यामा नागरिकहरूको अङ्गभङ्ग भएको छ ।

यसैबीच, सिरियाली आन्दोलनमा विद्रोहीलाई सघाउँदै आएको अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फर्काउने सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साता एउटा ट्वीटर सन्देशमा वासिङ्टन सिरियाबाट सेना फिर्ता गर्न लागेको जानकारी दिए । यसबारे पक्ष विपक्षमा धारणाहरू आउन थालेका छन् ।

सिरिया र अफगानिस्तानमा भएको अमेरिकी लगानी प्रत्युत्पादक बनेको ट्रम्पको बुझाइ छ । जसलाई कुनै न कुनै बहानामा रोक्न ट्रम्प प्रशासन चाहन्छ भने केही अमेरिकी नेताहरूले सिरियाबाट तत्काल फर्किनुले अमेरिका सिरियाली युद्धमा हारेको सन्देश जाने भएकाले सेनालाई निस्क्रिय रूपमा राखेपनि नफर्काउनु बुद्धिमानी हुने बताउँछन् ।

बेलायतले सिरियाबाट अमेरिकी सेना फर्किहाल्ने अवस्था नभएको भन्दै यसबारे पुनः विचार गर्न आग्रह गरेको छ । रूसले ट्रम्पको सेना फिर्ता गर्ने कदमलाई सही निर्णय भनेको छ भने अमेरिकी राष्ट्रपतिको दल रिपब्लिकन पार्टीकै कतिपय नेताले यसलाई गम्भीर भूल भनेका छन् ।

राष्ट्रपतिको निर्णयसँग बाझिने गरी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरियामा आइएस बिद्रोहीविरुद्धको कारवाही अभियानको अर्को चरणबारे तयारी गरिरहेको बताएको छ । तर, उसले नयाँ चरणबारे केही बताएको छैन । राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको र अब सिरियामा अमेरिकी फौज रहिरहनुको औचित्य समाप्त भएको घोषणा गरेको भोलिपल्ट गत बिहीबार रक्षामन्त्री म्याटिसले राजीनामा दिएका छन् ।

राष्ट्रपतिका निकै विश्वस्त पात्र मानिएका रक्षामन्त्री जेम्स म्याटिस र ट्रम्पबीच यस पहिले कुनै विवाद रहेका सूचना सार्वजनिक भएका छैनन् । यसरी हेर्दा राष्ट्रपतिले सिरिया र अफगानिस्तानबाट सेनालाई फिर्ता गर्ने निर्णय नै रक्षामन्त्रीको राजिनामाको मुख्य कारण हो भन्नसक्ने अवस्था देखिएको छ । म्याटिसका आलोचकहरुले राष्ट्रपति ट्रम्पका कैयौं आक्रामक कदमहरुलाई कार्यान्वयनमा लैजान म्याटिसले ढिलाइ गरेको बताएका छन् ।

सिरियाको उत्तर–पूर्वी क्षेत्रमा स्थानीय सैनिकलाई आइएसविरुद्धको संघर्षमा सहयोग गर्न दुई हजारको हाराहारीमा अमेरिकी स्थल सेना तैनाथ छन् । आइएस पराजित भएको निष्कर्षमा पुगे पनि फेरि उसले आफ्ना गतिविधि बिस्तार नगरोस् भन्नका लागि सीमित अमेरिकी सैनिक सिरियामा रहनुपर्ने भन्ने धारणा कतिपय अमेरिकासँग सैनिक सहकार्यमा रहेका विश्व समुदायको बुझाइ छ ।

अमेरिकाले आफ्ना सेना फिर्ता लैजानुको अर्थ सिरियामा रुस तथा इरानको प्रभाव बढ्ने माध्यम बनाउने मार्ग पनि बन्न सक्ने चिन्ता यूरोपेली संघ, यसमा आवद्ध केही प्रभाबशाली राष्ट्रहरू, बेलायत र अमेरिकी गठबन्धनमा रहेका अन्य मुलुकहरूको रहेको छ ।

जनरल म्याटिसको राजीनामाबारे फ्लोरिडाका निकै प्रभावशाली रिपब्लीकन पार्टी सिनेटर मार्को रुबियोले ट्वीट गर्दै शुक्रबार भने । “हाम्रो नीति गम्भीर भूलतर्फ उन्मूख रहेको यसले सङ्केत गरेको छ । यसले हाम्रो मुलुकलाई जोखिममा पार्नेछ, हाम्रा गठबन्धनलाई नोक्सानमा पार्नेछ, र हाम्रा शत्रुहरुलाई सशक्तीकृत गर्न मद्दत गर्नेछ ।”

सिरियामा आश्रयस्थल बनाएको इराक र लेभेन्टको आइएसको शक्तिलाई त्यहाँबाट हटाउने बिषयमा अमेरिकालाई पूर्ण सफलता मिलेको अमेरिकी बुझाइ छ । सिरियाली गृहयुद्ध चलेकै समय आफ्नो सेनालाई स्वदेश फर्काएर सिरियाली गृहयुद्धका कारण भएको भौतिक संरचनाको पुननिर्माणको जिम्मा रूसलाई नै छोडिदिनु राष्ट्रपति ट्रम्पको चलाखीपूर्ण निर्णय भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

पेन्टागन तथा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा अमेरिकी स्थल सेना फिर्ताको प्रक्रिया सुरु भइसकेको उल्लेख छ । तर, विस्तृत विवरण भने दिइएको छैन ।

अर्को सिरियामा अमेरिकी सेनाले गरेका हवाई आक्रमणमा धेरै सर्वसाधारणले ज्यान गुमाएपछि मानवअधिकारवादी समूहहरूले पनि अमेरिकी भूमिकालाई आलोचना गरेका छन् । गत जुनमा अमेरिकी हवाई आक्रमणमा अधिकांश बालबालिकासहित सर्वसाधारणको मृत्यु भएका घटनाले सिरियास्थित अमेरिकी सेनाको विश्वभर निकै आलोचना हुने गरेको छ । ट्रम्पले सेना फिर्ता गर्न यसलाई पनि एउटा वहाना बनाएका बुझिन्छ ।

ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुवरीको अन्त्यबाट पद त्याग्नु हुनेछ । राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले उल्लेख गरेका छन्, “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाइँ (राष्ट्रपति) सँग छ ।”

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ । ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन् ।

अमेरिकाले सन् २०१९ को मध्यसम्ममा अफगानिस्तानबाट झण्डै आधा अर्थात् करिब १४ हजार अमेरिकी सैनिक फिर्ता गर्नेगरी तयारी थालेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबारेमा औपचारिक निर्णय भने सार्वजनिक भएको छैन । राष्ट्रपतिमा नियुक्त भएपछि नेता ट्रम्पले दिएको अभिव्यक्ति कार्यान्वयन भएको भए अफगानिस्तानबाट यतिवेलासम्म सबै सेना फिर्ता भैसकेको हुनुपथ्र्यो ।

म्याटिसले चीन र रसियाले विश्वभर ‘सर्वसत्तावादी ढाँचा’को शासन पद्धति फैल्याउन चाहेको र अमेरिकी पछिल्ला नीतिले त्यसलाई मलजल गर्ने देखिएको बताएका छन् । उनले पत्रमा लेखेका छन्, “त्यहीकारण हामीले साझा प्रतिरक्षा उपलब्ध गराउन अमेरिकी शक्तिका सबै साधनको प्रयोग गर्नै पर्दछ ।”

राष्ट्रपति ट्रम्पले नयाँ रक्षामन्त्रीको चयन चाँडै हुने बताएका छन् । “राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीको कार्य नै राष्ट्रपतिलाई सुझाव दिनु हो र निर्णयकर्ता राष्ट्रपति हो,” ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्