बालविवाह रोक्न बीमा योजना ल्याउँछौं : मूख्यमन्त्री राउत

Lalbabu-Raut
लाेकपाटी न्यूज

पर्सा, ७ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना ल्याउन लागेको बताए । उनले प्रदेश सरकारले थालनी गरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि प्रदेश सरकारले बीमा योजना लागू गर्ने तयारीेमा रहेको बताए ।

वीरगञ्ज पब्लिक कलेजले शनिबार वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले आउँदो माघ महिनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गरे ।

मुख्यमन्त्री गद्दीले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले  रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्ष दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरेको बताए ।

उनले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले प्रदश नं २ लाई प्रविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी गराए ।

वीरगञ्ज पब्लिक कलेजका प्रबन्धक दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट एमविए, एमविएस, विविए, विविएस उत्तीण गरेका १ सय ३१ जना विद्यार्थीलाई मुख्यमन्त्री गद्दीले प्रमाणपत्र प्रदान गरेका थिए ।