बैठकपछि नेकपा झन् शक्तिशाली हुन्छ : किरण गुङ

Kiran Gurung (1)
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुष । गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे । उनले भने, ‘बैठकमा कोही पनि नेताहरुले सरकार असफल भयो भनेर बोल्नुभएको छैन् । तर, सरकार र पार्टी दुवैको कामबारे नेताहरुले सुझाव दिनुभएको छ । सरकारका काममा सुधार गर्नका लागि जोड दिनुभएको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने, ‘सरकार असफल भयो भने पार्टी पनि असफल हुन्छ । त्यसैले सरकारले अब आफ्ना कार्यशैली सुधार गरोस भनेर नेताहरुले बैठकमा धारणा राख्नुभएको छ ।’

बैठकभित्र नेताहरुले एउटा कुरा बोलेको तर बाहिर मिडियामा आउँदा अर्कै भएर आउने गरेकोमा भने उनले गुनासो पोखे । उनले भने, ‘बैठकमा हाम्रा नेताहरुले यसो भन्नुभयो भनेर जे जति कुरा आएका छन्, त्यसमा कुनै सत्यता छैन । बाहिर त पार्टी नै फुट्न लाग्यो भनेर कुरा आयो । तर, बैठकभित्र त्यस्तो कुरा भएको छैन ।’

उनले नेता वामदेव गौतमले बैठकमा सुझाव र आफ्नो विचारको रुपमा कुराहरु राखेको स्पष्ट पारे । उनले भने, ‘उहाँको सुझावमात्रै हो । तर, बाहिर फरक मत भनेर आयो । उहाँको पेश गरेको कुरा सुझाव हो, तर फरक मत होइन ।’ आफूहरुले बैठकमा लागेका कुराहरु निर्धक्क राख्ने गरेको सुनाउँदै उनले नेताहरुले कुनै आग्रह वा पूर्वाग्रह नपालेको पनि जिकिर गरे । आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा नेताहरुले जोड दिएको पनि उनले सुनाए ।

स्थायी कमिटि बैठक यसअघि समयमै नबसेकाले विरोधका स्वरुहरु सुनिएको तर सरकारले बेठिक नै गर्यो भनेर कोही पनि नेताले टिप्पणी नगरेको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘बरु बोल्ने नेताहरुले सरकार र पार्टीका कमिकमजोरीहरु सुधार गर्नुपर्छ भनेर बोल्नुभएको छ ।’

मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी बनाउनेगरि काम थालिएको पनि विश्वास दिलाए । उनले भने, ‘हामीले यो प्रदेशलाई पर्यटकीय प्रदेशको रुपमा विकास गर्नेगरि काम अघि बढाएका छौं । प्रदेशका जनतालाई समृद्ध बनाउनेगरि काम गरिरहेका छौं ।’ अहिले पनि गण्डकी प्रदेशका जनताको ‘पर–क्यापिटा इन्कम’ एक हजार २१ अमेरिकी डलर रहेको सुनाउँदै यसलाई आगामी पाँच वर्षभित्र बढाएर पाँच हजार पुर्याउने पनि उनले जनाए ।

गुरुङले गण्डकी प्रदेश भुगोलको हिसाबले मध्य, जनसंख्याको हिसाबले सानो र मानवीय विकास सुचांकको हिसाबले राम्रो अवस्थामा रहेकोले केन्द्रबाट प्राप्त हुने स्रोत, साधन र राजश्व बाँडफाँड कम लिएको पनि स्पष्ट पारे ।

आफूहरुले यो आर्थिक वर्षको लागि २४ अर्बको बजेट प्रस्तुत गरेको र बजेट यथार्थमा आधारित भएर आएको पनि उनले विश्वास दिलाए । उनले भने, ‘हामीले ऋणात्मक ढंगले बजेट ल्याएको होइन ।’