घाइते भेट्न शिक्षामन्त्री अस्पतालमा

Girirajmani pokhrel
लाेकपाटी न्यूज

काठमाडौँ, ८ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ उपचाररत दाङ बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा मन्त्री पोखरेलले घाइतेको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका थिए ।

यसैबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले दाङ स्कूल बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एक दिन शोक मनाउने निर्णय गरेको छ । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा शनिबार आकस्मिक बैठक बसेको थियो ।

बैठकले आइतबार परिषद्का आंगिक, साझेदारी, प्रााविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय तथा निजी शिक्षालयमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए ।

दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निक इन्स्टिच्यूटका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।