निर्मला प्रकरण : सिसी क्यामेराका फुटेज रिकभर भएन

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, ८ पुस । निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ । प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने आवाज उठेपछि ती फुटेज रिकभर गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको थियो।

‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सिसी क्यामेराका डिलिट भएका फुटेज रिकभर गर्न पठाएका थियौं,’ कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘डिलिट भएको १५ दिनसम्मको फुटेज मात्र रिकभर हुन्छ तर एक महिनापछि फुटेज पठाइएकाले रिकभर हुन नसकेको हो ।’

ओपेरा होटलमा साउन १० गते तीन युवा र तीन जना किशोरी आएको भनेर होटल कर्मचारीले भनेपछि ती को–को हुन् भनी फुटेज डिलिट भएकाले हेर्न सकिएको थिएन। तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणको जन्मदिनको अवसरमा उनीहरू त्यहाँ फोटो खिच्न गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ऐश्वर्य विष्ट नाम गरेकी एक मोडल र उनका दुई सहयोगी त्यहाँ फोटो खिचाउन गए पनि निर्मला भने नरहेको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

तातोपानी नाका खुल्ने

तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन् । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् । सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएपछि सो नाका बन्द भयो । त्यसैको एक वर्षपछि २०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा थप ढिलाइ हुन पुग्यो। त्यसयताका बर्खे बाढी, पहिरोले २६ किलोमिटर बाह्रबिसे–लिपिङ डिकखण्ड तहसनहस भयो। भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योल सिर्जना भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।