रामचन्द्र पौडेलको दाबी : काँग्रेसको विधान विश्वकै उत्कृष्ट

Ramchandra poudel
लाेकपाटी न्यूज

दमौली, ८ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको विधान विश्वकै उत्कृष्ट भएको दाबी गरेका छन् ।

आइतबार गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दाबी गरे । उनले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै काँग्रेसको संरचना नमुना बनेको उल्लेख गरे ।

उनले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पुर्‍याएको पनि बताए ।

राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काँग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको नेता पौडेलले बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसभित्र अब कुनै नेताको मनोमानी चल्न सक्दैन, विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पु¥याउनेछ र समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिनेछ ।’

लोकतन्त्रको लागि लडेको नेपाली काँग्रेस अब अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागिपर्ने नेता पौडेलले बताए ।