प्रचण्ड-ओलीले आजको बैठकमा जवाफ दिने

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आइतबार बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । ‘प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राख्नुभयो, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उहाँहरुले विचार राख्नुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए । प्यासफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले बैठकमा आलोचना गरेका थिए ।

स्थायी समितिको बैठक मंसिर २९ गतेदेखि जारी छ ।