महानगरलाई समृद्ध बनाउन सुझाव सङ्कलन

kathmandu meyropolitan 1
लाेकपाटी न्यूज

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले महानगरलाई समृद्ध बनाउन सुझाव सङ्कलन गरिरहेको छ । पहिलो पटक सुरु गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’मा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । गत मङ्सिर २६ गतेदेखि सुरु गरेको पहिलो चरणकाे प्रतिस्पर्धामा लागि ३२ दिनको समय अवधि निर्धारण गरिएको थियो ।

काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५’ सुरु गरेको हो । प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार विषय समेटिएका छन् । विषयमा रही महानगरलाई थप समृद्ध बनाउन जो कोही व्यक्ति वा संस्थाले आफ्नो क्षमता देखाउन सक्नेछन् ।

कामपाले प्रतिस्पर्धाका लागि इमेल ठेगाना www.kathmanduchallange.org मा लगअन गरी फाराम भर्न सकिने जनाएको छ । कामपा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले छनोट गरिएका सबै विषयमा सुझाव आउने क्रम जारी रहेको बताए । प्रतिस्पर्धालाई विभिन्न छ चरणमा विभाजन गरी सम्पन्न गर्ने आयोजकको तयारी छ । सबै चरण समापन गर्न करिब ६ महिनाको समय निर्धारण गरिएको पनि कामपाले जनाएको छ ।

नवीन सोचसहित विषयको आधारमा उत्कृष्ट ठहरिएका व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतिस्पर्धामा भाग लिन नेपाली नागरिकले विश्वको जुनसुकै स्थानमा रहेर पनि यसको फाराम भर्न सक्नेछन् । सङ्कलन भएका सुझावहरूबाट काठमाडौँको समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।