युवा आन्दोलनलाई उद्यमशीलतासँग जोडौं

Youth
लाेकपाटी न्यूज

आज अगष्ट १२, २०२०: अन्तर्राष्ट्रिय युवा दिवस। आजको यस दिवसको मूल नारा Youth Engagement for Global Action अर्थात् “विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रर्वद्धन र वातावरण संरक्षणमा युवा संलग्नता” हो।

नेपालको करीब ३ करोड जनसंख्यामा ४० देखि ५० लाख युवा रोजगारीका लागि विदेसिनुपर्ने परिस्थिति सिर्जना भएको छ। मुलुकको संवृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने युवा शक्ति यसरी विदेसिनु राष्ट्रका निम्ति किमार्थ राम्रो होइन। देशभित्र रहेको युवा शक्ति बेरोजगारीको चपेटामा परेको तथा लाखौं युवाहरु बिभिन्न खाले कुलतको शिकार भएका प्रशस्त दृष्टान्तहरु पनि छन्।

यस सन्दर्भमा मुलुकको समृद्धि र विकासका लागि विचार तथा योजना निर्माण र कार्यान्वयनमा युवा सोच र साहस आजको आवश्यकता हो। राज्यको हरेक तह र तप्कामा युवाहरुको सहभागिता र नेतृत्वदायी भूमिका रहने वातावरण निर्माण हुनु जरुरी छ। युवामा लगानी बढाएर रोजगारी तथा स्वरोजगारको अवसर प्रदान गरेर युवा शक्तिलाई राष्ट्रनिर्माणको अभियानमा जोड्ने सकेमात्र मुलुकले नयाँ निकास प्राप्त गर्न सक्छ।

तसर्थ राज्यले एउटा नीति तयार गरी युवाहरुलाई उत्पादनमा जोड्ने रणनीति तयार गरी अगाडि बढोस्। सबै युवा शक्तिको संलग्नतामा उद्यमशीलता र आर्थिक रुपान्तरणको माध्यमबाट राष्ट्र निर्माणको अभियानमा सहभागी बनौं। अन्तर्राष्ट्रिय युवा दिवसको यस अवसरमा सबैमा हार्दिक शुभकामना।