सुनवलमा नयाँ सिमसार क्षेत्र

wetland
लाेकपाटी न्यूज

रमेश भुसाल/पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा सिमसार क्षेत्र निर्माण भएकोे छ । पूर्व–पश्चिम राजर्मागको सुनवल नगरपालिका वडा नम्वर–४ दामोदरकुण्डबाट करिव डेढ किलोमिटर उत्तरमा ४ विघा क्षेत्रफलमा सिमसार निर्माण गरिएको हो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिको ७० लाखको सहयोग र जल पुनर्भरण पोखरी निर्माण उपभोक्ता समिति गठन गरी कृतिम जलासय निर्माण गरिएको हो । मुलपानी सामुदायिक वन र केही क्षेत्र आदर्श सामुदायिक वन क्षेत्रमा पर्ने कृत्रिम जलासय अन्यन्तै आकर्षक भएको र यस जलासयबाट पानी रिचार्ज हुने, वन्यजन्तुमैत्री, कृषि, सिंचाई पशुपालन र पर्यटकीय विकासको अत्यन्तै सम्भावना बोकेको जल पुनर्भरण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेले बताए ।

जलासयको छेउमा हरित सडक र बीचमा रहेको टापुमा पार्क बनाउने साथै डुङ्गा सयर गराउने लक्ष्य रहेको अध्यक्ष पाण्डेले वताए । जलासय निर्माण गरेपछि विभिन्न खालका चराचुरुङ्गी, विभिन्न खालका जंगली जनावरहरु आएको र यस सिमसारले वातावरणीय सन्तुलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको उपभोक्ता समितिका सदस्य उमाकान्त उपाध्यायले बताए ।

त्यस्तै स्थानीयबासी दशरथ कुमालले यस क्षेत्रमा निर्मित सिमसार क्षेत्र सुनवल नगरपालिका वडा नम्वर ४ र नगरपालिकाकै पहिचान रहेको बताए । पर्यटकीय क्षेत्रको विकास गर्दै यस सिमसार क्षेत्रबाट वन्यजन्तुको संरक्षण हुनुका साथै रोजगारिको समेत सम्भावना रहेको स्थानीय बालकृष्ण पौडेलले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्