‘एसईईको नतिजा र हाम्रो मूल्याङ्कन प्रणाली’

see
लाेकपाटी न्यूज

यस वर्ष अर्थात् २०७६ को एसईईको नतिजा प्रकाशित भएको छ। यस वर्ष ४,८२,२१९ विद्यार्थीको मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो। गत चैत ६ गतेदेखि शुरु हुने तय भएको उक्त परीक्षा कोरोना भाइरसको कारण उत्पन्न कोभिड-१९ संक्रमणले निम्त्याएको विषम परिस्थितिका कारण परीक्षा शुरु हुने अघिल्लो दिन बेलुकी स्थगित भएको थियो।

तर, शिक्षा मन्त्रालयले एक कार्यविधि तयार गरी सम्वन्धीत विद्यालयलाई मूल्याङ्कन गर्ने जिम्मेवारी दिइयो। सो कार्यविधि पारित भएपछि परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीहरुमा रहेको एकखाले निराशा र अन्योलता अन्त्य भयो।

नेपालमा भएका ठूला राजनीतिक परिवर्तनसँगै शिक्षामा जुन किसिमको परिवर्तन हुनुपथ्यो, त्यो हुन सकेन अर्थात् त्यसको निम्ति राज्यको ध्यान जान सकेन। हामी लामो समयदेखि शिक्षा कस्तो हुने, शिक्षालाई श्रमसँग कसरी जोड्ने, शिक्षालाई कसरी जीवन उपयोगी बनाउने भन्ने बहसमा छौं। बहसलाई सार्थकता दिन हाम्रो पाठ्यक्रम र मूल्याङ्कन प्रणालीलाई समयानुकूल परिमार्जन गरी अगाडि बढ्नु आजको आवश्यकता हो। विद्यार्थीमा पढ्ने भन्दा पनि सिक्ने संस्कारको विकास गर्नु जरुरी छ। त्यसैले नेपालको सम्वृद्धि र विकासका निम्ति सीपमुलक, व्यवसायिक तथा प्रविधिक शिक्षा पनि आजको आवश्यकता हो।

शिक्षाले मानव जीवनमा नैतिकवान, चरित्रवान र समाजप्रति उत्तरदायी बनाउने उद्देश्य राख्दछ। तसर्थ यी कुराहरुलाई मध्यनजर गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस्। मुलुकको भविष्य तपाईंहरुको हातमा छ। आगामी दिनमा मेहनत र परिश्रमका साथ ठूलो मात्र होइन राम्रो मान्छे बनेर आफ्नो समाज र राष्ट्रको निम्ति अग्रसर हुन प्रेरणा मिलोस्। ग्रेड नै सबैथोक होइन। जुन ग्रेड आएको भएपनि सबै विद्यार्थी भाइबहिनीहरुलाई लाखौं लाख शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्