प्रधानाध्यापक सरुवा भएपछि घण्टाघर तनावग्रस्त

birjung ghantaghar
लाेकपाटी न्यूज

वीरगञ्ज, ९ पुस । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थितका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ ।

महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रधानाध्यापक मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् । प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको महानगरको आरोप छ ।

प्रअले माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए । उनले भने, “विद्यार्थीलाई उचालेर राजनीतिक गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ, हामी कानूनी प्रक्रियाका लागि पहल गर्छौं।”

महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएकाले प्रअ मेहताको सरुवालाई अभिभावकले स्वागतयोग्य मानेको बताएको छ । तर, विद्यार्थीले आज बिहानैदेखि नारा जुलुस गर्न थालेपछि घण्टाघर क्षेत्रमा सवारी आगमन ठप्प पारेका छन ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने घटेको छैन । विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ ।