यस मामिलामा काँग्रेस पहिलो पार्टी

लाेकपाटी न्यूज

काठमाडौं, ९ पुस । नेपाली काँग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ ।

काँग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावलाई बैठकले परिमार्जन गर्ने गरी सर्वसम्मतरूपमा पारित गरेसँगै सङ्घीयताअनुसारका पार्टीका संरचना हुने र सबै तहमा समावेशी सिद्धान्त लागू भएका छन् ।

विधान मस्यौदामा खासगरी शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा लामो बहस र चर्काचर्की भए पनि अन्ततः १४ पदाधिकारीसहित १६७ सदस्यीय पूर्ण समावेशी केन्द्रीय समिति बनाउने सहमत भएको थियो ।