मसालको ‘चीन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् ?’ विमोचित

लाेकपाटी न्यूज

काठमाडौं,९ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालयद्वारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होइनन् ?’ भन्ने पुस्तकको विमोचन गरिएको छ ।

सोमबार रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा पार्टीका प्रवक्ता रामप्रकाश पुरीले अहिले भारत र चीनमा एकाधिकार पुँजीको विकासका कारण यी दुवै देश साम्राज्यवादी भएको र विश्व एकाधिकार पुँजीको वरिपरि घुमिराखेको अवस्थामा पुँजीको विकसित रुप नै साम्राज्यवाद रहेकोे बताएका छन् ।

उनले भने, ‘आउँदै गरेको पार्टीको महाधिवेशनको विषय वस्तुपनि यिनै कुराहरुमा आधारित रहेकोले यो पुस्तक प्रकाशन गरिएको हो ।’

तेस्रो मुलुकका देशहरु अति विपन्न र विकासोन्मुख देशमाथि पुँजीवादी देशहरुले विभिन्न किसिमका उपनिवेश कायम गर्नको लागि पुँजीको उपयोग गर्ने गर्दछन भन्दै उनले थपे, ‘भारत विस्तारबादी देशभन्दा बाहिर आएर उदारबादी बनेको छ, अबको समाजबाद युद्ध, हतियारले नभएर आर्थिक र वैज्ञानिक विकासले अगाडी बढ्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले उक्त पुस्तकमाथि आफ्नो धारणा राख्दै भारत एकाधिकार पुँजीमार्फत विश्वमा आफ्नो बित्त अधिकार कायम गर्न लागिरहेको टिप्पणी गरे ।