‘काँग्रेसले हिन्दुराष्ट्रको मुद्दा बोक्दैन’

NP Saud
लाेकपाटी न्यूज

काठमाडौं, ९ पुस । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एन.पी. साउदले काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स नेपालमा आयोजित साक्षात्कारमा नेता साउदले धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताएका हुन् । यद्धपी उनले काँग्रेसले हिन्दुराष्ट्रको मुद्दा नबोकेको जिकिर गरे ।

साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहासिक भएको र यसले देशैभरि एकताको सन्देश दिएको पनि दाबी गरेका छन् । महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भीर प्रश्न उठेको पनि उनले सुनाए । उनले भने, ‘आधाभन्दा बढि सदस्यहरुले यसबारे प्रश्न उठाउनुभएको छ ।’

सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उनले राज्य आँफै नयाँ-नयाँ धर्मको प्रचारमा लागिपरेको गम्भीर आरोप लगाए । उनले भने, ‘कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम यो सरकारले गरेको र सरकार आँफै सहभागी भएकोबारे हाम्रो पार्टीभित्र समीक्षा भएको छ । काँग्रेसले सरकारको यो कदमलाई भर्त्सनायोग्य र गम्भीर कदमको संज्ञा दिएको छ ।’ पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलेको पनि उनले टिप्पणी गरे ।

साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको र यसप्रति पार्टीभित्र छलफल हुनेपनि जनाए । उनले भने, ‘सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेल भएको छ । यो जघन्य कुरा हो ।’ पछिल्लो समय नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढेको पनि उनले खतरा औंल्याए ।