विकासका लागि चीनसँग सहकार्य गर्न चाहन्छौं : रेनु दाहाल

renu dahal
लाेकपाटी न्यूज

चितवन । सोमबार भरतपुर आएको चीनको सिपिङ सिटीका प्रतिनिधिहरूको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उक्त अवसरमा बोल्दै भगिनी सम्बन्धपछि दुई सहरका बीचमा सुमधुर सम्बन्ध बन्दै जाने प्रतिनिधि मण्डलका प्रमूख डिपोटी सेक्रेटरी ‘ली ह्वाडग’ले बताए ।

‘ली’ले सांस्कृतिक आदानप्रदानसँगै प्रविधि हस्तान्तरणका साथै पूर्वाधार निर्माणमा दुई सहरबीच सहकार्य हुनुपर्ने बताए । सिपिङले गरेका भौतिक विकाससँग भरतपुरलाई जोड्न सक्दा सिस्टर सिटीको महत्व हुने बताउँदै आफूहरूले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा चिनियाँ लगानी भूमिका खेल्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाको अवस्थाका साथै भए गरेका कामको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पीडित भण्डारी, वडा अध्यक्षहरूका साथै चिनियाँ प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जनगणतन्त्र चीनको सिपिङ्ग सिटीका प्रतिनिधि मण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको सिपिङ म्युनिसिपल कमिटीका डेपुटी सेक्रेटरी लि यान, सिपिङ म्युनिसिपलको पर्यटन र संस्कृति ब्युरो निर्देशक जि झियिङ, होङ्जु आर्थिक विकास क्षेत्रका फु योङ्जिउ, सुआङ्लिआओका डेपुटी मेयर नी ली र सिपिङ विदेश मामिला सेवा केन्द्रका सुन शेङ्नान रहेका छन् ।

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले टोलीलाई स्वागत गरेकी थिइन् । सिपिङ्ग सिटीका प्रतिनिधि मण्डललाई स्वागत गर्न पाउँदा भरतपुर महानगरपालिका परिवार अत्यन्तै हर्षित भएको बताउँदै महानगर प्रमुख दाहालले भनिन्, ‘नेपाल र चीनबीच भृकुटी र स्रङ्गचङ्ग गम्पोसँग जोडिएको सदियौँदेखिको अत्यन्त सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । चीनले नेपालको पूर्वाधार बिकास, शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पुर्याइरहेको छ । म जनगणतन्त्र चीनप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।’

कृषि र औद्योगिक विकासको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको मित्रराष्ट्र चीनको सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच गत जेठ महिनामा भगिनी सम्बन्ध कायम भएको छ । यसबीचमा भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डलले सिपिङ्ग सिटीको भ्रमण सम्पन्न गरिसकेको छ ।

सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच भएको भगिनी सम्बन्धले दुई नगरबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने महानगर प्रमुख दाहालले विश्वास व्यक्त गरिन् । यस सम्बन्धले कृषि पर्यटन औधोगिक विकासका साथै ज्ञान, सीप, प्रविधि आदानप्रदानमार्फत् जनस्तरको सम्बन्धलाई झनै प्रगाढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

‘मित्र राष्ट्र चीनको सिपिङ्ग सिटिसँग सहकार्य गर्दै समृद्धि यात्रामा सँगसँगै जान चाहन्छौं’ दाहालले भनिन्, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौं । यस अवसरमा सिपिङ्ग सिटि र चिनियाँ निजी क्षेत्रसँग भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान समेत गर्दछु ।’