दर्शनबारे चर्चा : षड्दर्शन र वेदान्त दर्शन

destinosophy-magazine
  • 47
    Shares
लाेकपाटी न्यूज

वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो, जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ। यसको मुख्य स्रोत उपनिषद हो। जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ। उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो, त्यसैले यसलाई वेदान्त भनिन्छ। कर्मकाण्ड र उपासनाको मुख्यत: वर्णन मन्त्र र ब्राह्मणमा छ, ज्ञानको विवेचन उपनिषदमा ‘वेदान्त’को शाब्दिक अर्थ हो। ‘वेदको अन्त’अथवा सार।

संस्कृत भाषामा सनातन धर्म भनेर चिह्निएको हाम्रो हिन्दू धर्म वा हाम्रो जीवन पद्धतिलाई यसका अनुयायीहरुले ” वैदिक सनातन वर्णाश्रम धर्म ” पनि भन्ने गरेको पाइन्छ। यसो भन्नुको पछाडिको तर्क यसको शुरुवात मानव उत्पत्ति भन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो। त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक,पौराणिक परम्परा र संस्कृतिहरुको सम्मिश्रण मानिएको हो। अन्य धर्म, जस्तो हिंदू धर्मभित्र कोही संस्थापक रहेका छैनन्। यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा, उपासना पद्धति, मत, सम्प्रदाय , दर्शनहरु हुर्किएको पाइन्छ। यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवाद्लाई पृष्टपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म , हिन्दू धर्म , वैदिक धर्म , हिन्दू आगम आदिजस्ता अनेकौँ नामले चिनाउँदै आइएको छ। यसले आफुभित्र थुप्रै दर्शनहरुपनि हुर्काउन सकेको छ। आजको दिनमा पनि यसभित्र वैदिक र लौकिक संस्कृत भाषामा लेखिएका शास्त्रीय वाङ्गमयहरुको विशाल भण्डार रहेको छ। झन्डै १३०० प्राचीन हस्तलिखित ग्रन्थहरु आज पनि यसका ढुकुटीभित्र जिउँदा रहेका छन्। हाम्रो बाेलीचालीमा यिनै ग्रन्थहरु शास्त्र कहलिन पुगेका हुन्। यहाँ शास्त्रको अर्थ हाम्रो जीवन पद्धतिका (धर्म) गूढ़ तत्त्वहरुलाई ब्याख्या गरेको अर्थमा हो। ती धर्मशास्त्रहरूको निचोडको रूपमा थुप्रै दर्शन शास्त्रहरूको उदय हुन पुगेको छ।

सनातन हिन्दू पद्धतिले धर्मशास्त्रलाई कर्मपरक मानेको छ भने दर्शनशास्त्रलाई ज्ञानपरक ठानेको छ। यी दुईभित्र हाम्रो आध्यात्म विधालाई विचार्ने ‘मोक्षशास्त्र रहेको छ, यसका ज्ञानहरुलाई मीमांसा गर्ने प्रमाणशास्त्र हुन पुगेको छ। ती दुबैलाई गतिलो गरी विचार्ने दर्शनशास्त्र रहेको छ। त्यसैले हाम्रो परिप्रेक्ष्यमा हाम्रो जीवन र हामी हुर्किएको जगतको त्यो दर्शनसँग अटुट सम्बन्ध रहेको मानिएको हो। हाम्रो यो सम्बन्धलाई अन्वेषण गरेर चिरफार गर्नेकाम मानव जीवनले गर्दै आएको हो। हाम्रो जीवनको सैद्धानितक स्वरुप त्यही दर्शनले विश्लेषण गरेको हो। जीवन र जगतको मीमांसा गर्नु यी दर्शनहरुको उद्देश्य हो। हामी को हौँ ? ,कहाँबाट आयौ ? किन आयौं ? जस्ता सूक्ष्म जिज्ञासा र त्यसभित्र रहेको ज्ञानको खोजी गरी बुझ्ने प्रयास गर्दा ती दर्शनहरुको उत्पत्ति हुन पुगेको हो। यी दार्शनिक चिन्तनका दृष्टिकाेणहरु बेग्ला बेग्लै रहेका छन्। त्यसले गर्दा ती विचारहरुको विश्लेषण गर्दा अनेकौँ पद्धतिहरुको जन्म हुन पुगेको हो। यसैबाट विभिन्न दार्शनिक सिद्धान्त र सम्प्रदायहरु बन्न पुगेको छ। तर , जस्तो भएपनि वेद शब्द जस्तै यी दर्शनहरुमा पनि ठूलो ज्ञान परम्परा हुर्किएको छ , त्यो नै यथार्थ हो।

धर्ममा दार्शनिक चिन्तन गर्ने परम्परा ज्यादै प्राचीन हो। यसको मूल तत्व ईश्वर, जीव, प्रकृति, श्रृष्टि, उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि रहेको छ। यो दर्शनशास्त्र भनेको यस ब्रह्माण्डको सत्य र प्रकृतिका सिद्धान्तहरु, त्यसका कारणहरुको ब्याख्या गरेको ग्रन्थहरु हो। यो ब्याख्या दृष्टिकोणको रूपमा रहेको छ। यहाँ दार्शनिक चिन्तन भन्नाले मानव जीवन र जगतको खोज हो अनि दर्शनशास्त्र भनेको चाहिँ यस प्रकृति, समाज, मानव चिन्तन तथा ज्ञान प्रक्रियाहरु संगालिएको नियमहरुको विज्ञान हो। भन्नुको अर्थ दर्शनशास्त्र भनेको खासमा हाम्रो सामाजिक चेतना हो। यसै वैदिक दर्शनलाई फिलोसफीको रूपमा पाइथागोरसले र विशिष्ट अनुशासन र विज्ञानको रूपमा प्लेटोले ब्याख्या गरेका थिए।

षड्दर्शन र वेदान्त दर्शन

षड्दर्शन र वेदान्त दर्शन भनेको के हो त्यो विचार गरी हेरौं| सनातन धर्मभित्र विभिन्न समयमा विभिन्न व्यक्तिहरुले यसका परम्परा, स्थिति र ज्ञानलाई आ-आफ्नो दृष्टिकोणहरुमा खारेर विश्लेषण गरेका थिए। त्यही विश्लेषण षड्दर्शनको रूपमा जन्मिन पुग्यो। यसको अर्थ षड्दर्शन हाम्रो दार्शनिक एवं धार्मिक विचारहरु मन्थन गरिँदा उम्रिन पुगेको हो, जसलाई हजारौं वर्षको मिहिनेतले जन्माएको हो भन्नुपर्ने हुन्छ। यसलाई वैदिक दर्शन वा आस्तिक दर्शन पनि भन्ने गरिएको छ। तर , यो वेदान्त दर्शन चाहिँ होइन। यसका प्रणेताहरु हुन् – पूर्व मीमांसा: महिर्ष जैमिनी (जैमिनीघाट, ठेउला खोला बागलुङ्ग), वेदान्त (उत्तर मीमांसा): महिर्ष बादरायण (दमौली, तनहुँ ),  सांख्य: महिर्ष कपिल (कपिलवस्तु), वैशेषिक: महिर्ष कणाद, न्याय: महिर्ष अक्षपाद गौतम (गोतम) (विदेह्स्थान ,जनकपुर) ६ योग: महिर्ष पतञ्जली।

त्यतिखेर वैदिक ज्ञानलाई चिनाउन दुई वटा प्रयास गरिएको थियो १. दर्शनशास्त्र २. ब्राह्यण र उपनिषदादि ग्रन्थ। ब्राह्यण (ब्र्ह्मलाई चिह्नाउने सामर्थ्य दिने ग्रन्थ ब्राह्मण भनिएको ) र उपनिषदादि ग्रन्थहरुले आ-आफ्नो विषय वस्तुहरुलाई प्राचिन ऋषि महर्षिहरुले आफ्ना शिष्य, श्रद्धावान र जिज्ञासुहरुलाई मूल वैदिक ज्ञान सरल भाषामा बुझाएका छन्। यो कुरो आइन्सटाइनको Theory of Relatively जस्तै छ। जसरी आइन्सटाइनको भनाइलाई कसैले कुनै अन्य प्रमाणहरु नै नखोजी स्वीकार गर्दछ भने कसैले आइन्सटाइनको कुरो सत्य र ठिक हो भन्ने कुरो पत्याउँदैनन्, अलि अनकनाउछन् र त्यसलाई प्रमाणित गर्नुपर्ने तर्क खोज्दछन्। त्यसरी नै वेदको ज्ञानलाई तर्क दिएर सम्झाउन माथि उल्लेख गरिएको ६ वटा दर्शनशास्त्र लेखिएको छ। जसले मूल वेदको ज्ञानलाई आ-आफ्नो तर्क दिएर पुष्टि गर्ने प्रयास गरे। प्रत्येक दर्शनशास्त्रको आ-आफ्नै विषयवस्तु रहेको छ। जसरी भौतिक विज्ञान (Physics) मा Newtonian Physics, Magnetism, Atomic Physics, इत्यादि रहेको छ। दर्शनशास्त्र सूत्र रूपमा लेखिएको छ। प्रत्येक दर्शनले त्यो दर्शन लेखिनुको उद्देश्यहरु आफ्नो प्रथम सूत्रमा दर्साएका छन् र त्यो उद्देश्यको पूर्ति गर्ने सूत्र चाहिँ त्यस ग्रन्थको अन्तमा बताएका छन्। वैदिक ज्ञान समेटिएको ग्रन्थ भागवद्गीता हो, जसको लेखिने आधार वेद, उपनिषद र दर्शनशास्त्र नै हो।

भगवद्गीता २-३९ र १३-४ मा भनिएको छ –

एषा तेSभिहिता सांख्ये बुद्धिर्योगे त्विमां श्रुणु।

बुद्धया युक्तो यथा पार्थ कर्मबन्धं प्रहास्यसि।। गीता २-३९

-हे अर्जुन ! यो बुध्दि (ज्ञान) जसलाई मैले सांख्यदर्शन अनुसार भने, अब यही कुरो म तिमीलाई योग दर्शन अनुसार भन्दैछु। यो ज्ञान हृदयंगम गरेर तिमी आफ्नो कर्म बन्धनलाई समूल नष्ट गर्न सक्दछौं।

ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविषै: पृथक्।

ब्रह्यसूत्रपवैश्चैव हेतुमदिभर्विनिधैश्चितै:।।४।। गीता१३-४

प्रमाण, विचार, सृष्टिमीमांसा र मोक्षसाधना षड्दर्शनको विषयवस्तु हो। यी छ दर्शनहरु सबैले कुनै न कुनै रूपमा आत्मालाई स्वीकारेका छन्। यसअनुसार आत्माको निवृत्त नै मोक्ष हो। पुनर्जन्म, आचार, योग आदि यी दर्शनले स्वीकारेका विषय वस्तुहरु हुन्। न्याय, योग जस्ता केही दर्शनले ईश्वरलाई स्वीकारेको छ। तर सांख्य र मीमांसा दर्शनले ईश्वरलाई स्वीकारेको छैन|

वेदान्त दर्शन भनेको के हो ? त्यो बुझ्ने प्रयास गरी हेरौं। वेदान्त दर्शन भनेको वेदको अन्त र त्यसले प्रतिपादन गरेको सिद्धान्त हो। कस्तो सिद्धान्त ? भन्दा त्यस्तो सिद्धान्त जसका लागि उपनिषद् ग्रन्थहरु नै प्रमाणको रूपमा रहेको छ। यहाँ बुझ्नुपर्ने के हो भने – वेदान्तमा उल्लेख गरिएका कुराहरुको मूल उपनिषद् हो। यसैकारण वेदान्त दर्शनका लागि तिनै सिद्धान्तहरु मननीय मानिन्छन्, जुन सिद्धान्त उपनिषदमा आधारित भएको हुन्छ अर्थात् उपनिषद्लाई आधार बनाएर महर्षि बादरायणले जुन ब्रह्मसूत्रको रचना गरेका थिए, त्यसका सूत्रहरु मूल उपनिषदमा भएकोले उपनिषद्लाई सबै दर्शनहरुको मूल सिद्धान्त भनिएको हो। यहाँ वेदान्तको शाब्दिक अर्थ हो – वेदको अन्त वा वेदको सिद्धान्त वा वेदको सार। सनातनीले जोगाएर राखेको कर्मकाण्ड र उपासना पद्धतिको वर्णन वेदको मन्त्रसंहितामा र ब्राह्मण ग्रन्थहरुमा रहेको हुन्छ भने वेदभित्र रहेका अध्यात्मिक ज्ञानहरुको वर्णन चाहिँ उपनिषदहरुमा रहेको छ। यसर्थ वेदान्त शास्त्रका लागि ती सिद्धान्तहरु मात्र मननीय हुन मानिन्छन्, जसलाई उपनिषदले प्रमाणित गर्न सक्छ वा प्रमाणित गरेर ल्याएको छ। त्यसैले उपनिषद्लाई सबै वैदिक दर्शनहरुको मूल सिद्धान्त मानिएको हो।

उपनिषदभित्र रहेको वेदान्त दर्शनलाई ज्ञानयोगको एउटा शाखा भनेर मान्ने गरिन्छ भने त्यो ज्ञानयोगले कुनै पनि व्यक्ति विशेषलाई ज्ञान प्राप्तिको लागि उत्प्रेरित गर्ने गर्दछ। उपनिषद् भनेको वेद र अरण्यक ग्रन्थहरुको सार हो भने दर्शन भनेको हाम्रो जीवन र जगतको सत्यहरुको प्राकृतिक सिद्धान्त र त्यसका कारणहरुलाई कोट्याएर विश्लेषण गरेको सिद्धान्त हो। दर्शन कुनै पनि विषयवस्तुहरुको यथार्थता थाहा पाउन सकिने प्रारम्भिक दृष्टिकोण हो। मानव जीवनको मूल अर्थ खोज्नु दार्शनिक चिन्तनको एकमात्र लक्ष्य हो। हाम्रो सनातनी दर्शन र अंग्रेजको ‘फिलोसफी’ (Philosophy) एउटै कुरो होइन, यी नितान्त बेग्लाबेग्लै कुरो हुन्। किनभने, दर्शनले जीवनको, भोगेको विषय वस्तुको, तत्वज्ञानको यथार्थता वोध गराउँछ भने फिलोसफीले विभिन्न विषयवस्तुहरुको साधारण विश्लेषण मात्र गर्न सक्दछ। हाम्रो दर्शनले हाम्रो चेतनाको र चेतनास्तरको मीमांसा अर्थात् गम्भीर मनन र विचार विमर्श गरेको हुन्छ।

वेदान्त र ज्ञान योग

वेदान्त ज्ञानयोगको त्यस्तो हाँगो हो ,जसले मान्छेलाई आध्यात्मिक ज्ञान प्राप्तिकोलागि उक्साउँछ। माथि उल्लेख गरेअनुसार यसको मुख्य श्रोत उपनिषद हो र त्यो उपनिषद् भनेको वैदिक ग्रन्थ र आरण्यक ग्रन्थहरुको सार हो। त्यै उपनिषद् वैदिक साहित्यहरुको अन्तिम भाग पनि हो। त्यसैले यसलाई वेदान्त पनि भन्ने गरिएको हो। वेदान्तका शाखाहरु अद्वैत, द्वैत, विशिष्ठाद्वैत, द्वैताद्वैत, विशुद्धाद्वैत र अचिन्त्य भेदाभेद भनेर चिनिएका छन्। आदि गौणापाद, शंकराचार्य, रामानुजाचार्य, माधवाचार्य, निम्वाकाचार्य, वल्लाभाचार्य, चैतान्यदास आदि यसका प्रवर्तक मानिएका छन् भने यसका ज्ञानयोगका अन्य शाखाहरुको प्रवर्तकमा भाष्कर, वल्लभ, चैतन्य, निम्बारक, वाचस्पति मिश्र, सुरेश्वर र विज्ञान भिक्षु आदि रहेका छन्। यसबाहेक आधुनिक कालका केही वेदान्तीहरु रामकृष्ण परमहंस, विवेकानन्द, अरविन्द घोष, शिवानन्द र रमण महर्षि आदिहरुले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। शुरु शुरुमा उपनिषदका लागि मात्र ‘वेदान्त’ शब्दको प्रयोग गरेको देखिए पनि पछिपछि त्यही उपनिषदलाई आधार मानिँदा जुन-जुन विचारहरुको विकास भएर गयो, त्यसलाई पनि ‘वेदान्त’ नै भन्न थालिएको पाइन्छ।

उपनिषदलाई ‘वेदान्त’ शब्द प्रयोग गर्ने ३ वटा आधारहरु

(१) पहिलो , उपनिषद् ‘वेद’को अन्तमा आउने हुँदा , वेद भानिंदा वैदिक संहिताहरु भन्ने बुझिन्छ, जसमा ऋक्, यजुः, साम तथा अथर्ववेद पर्दछन्। त्यसपछि ब्राह्मण, आरण्यक तथा उपनिषद् आउँछ। यी उपनिषदहरु वैदिक साहित्यको अन्तमा पर्न गएको कारण यिनीहरुलाई वेदान्त भनिने गरिएको हो। (२) दोश्रो, वैदिक साहित्यमा उपनिषदको पालो पछिमात्र आउने हुँदा, वैदिककालतिर गृहस्थाश्रममा प्रवेश गरेपछि गृहस्थोचित यज्ञादि कर्म गर्न ब्राह्मण-ग्रन्थ पढाइने गरिन्थ्यो। अनि, वानप्रस्थ या संन्यास आश्रममा पुगेपछि उसलाई आरण्यक ग्रन्थको आवश्यकता पर्दथ्यो। ती मान्छेहरु वनमा बसेर जीवन, जगतको कुराहरु बुझ्ने गर्दथे। उपनिषद्को अध्ययन तथा मनन् त्यतिखेरै खुवै हुने गर्दथ्यो। (३) तेश्रो, उपनिषदहरुमा वेदको ‘अन्त’ अर्थात् वेदका विचारहरुको परिपक्व स्वरूप रहेको हुँदा वेद-वेदांग आदि सबै शास्त्र पढे पनि उपनिषदहरुको शिक्षा प्राप्त नगरेसम्म मान्छको ज्ञान पूर्ण आर्जन गर्न सकेको मानिन्थेन। त्यसकारण सबै उपनिषद् ग्रन्थहरुले वेदान्त शाखाको प्रतिनिधित्व गर्ने गर्दछन् भन्ने गरिएको हो।

हिन्दूधर्ममा वेदान्तका विशेषताहरुलाई कोट्याउने ज्यादै लामो परम्परा रहेको पाइन्छ। वेदान्त दर्शनलाई नेपाली सनातन हिन्दू समाजले ब्रह्म सूत्र पनि भन्ने गरेको छ। ब्रह्मसूत्र भनेको छुट्टै पदावलीको प्रयोग हो, जसले हाम्रै सत्य सनातन वैदिक ग्रन्थलाई जनाउँछ। यसमा विगतका हाम्रा विभिन्न आध्यात्मिक व्यक्तित्वहरुले प्रतिपादन गरिदिएका विभिन्न सूत्रहरुको ब्याख्या गरिएको छ। तेश्रो शताव्दी अघिदेखि यसका विशेषताहरु औंल्याउन, केलाउन र प्रस्ट्याउन, विभिन्न व्यक्तिहरुले विभिन्न धार र विचारहरु प्रतिपादन गरेका छन्। यत्रो लामो समयावधिमा कस्ता कस्ता पूर्वाचार्यहरु जन्मिए ? तिनले कस्तो कस्तो दर्शन र मान्यताहरु अघि सारे ? हाम्रा ती व्यक्तित्वहरुले आत्मा, परमात्मा र मायालाई प्रष्ट्याउन सम्बन्धमा कस्तो सिद्धान्त राखे, कस्तो मान्यता प्रतिपादन गरे ? भन्ने कुराहरुको निचोड नै अद्वैत, द्वैत, विशिष्ठ अद्वैत, द्वैताद्वैत, विशुद्ध अद्वैत र अचिन्त्य भेदाभेद वेदान्त दर्शन हो। आदि शंकराचार्य, रामानुजाचार्य, निम्वकाचार्य, माधवाचार्यले, वल्लभाचार्य, चैतन्य महाप्रभु यसका प्रवर्तकहरु हुन्।

(१) अद्वैत

अद्वैतको शाब्दिक अर्थ जगत र जीव दुईटा कुरो जस्तो बुझिए पनि तिनको सत्ता एक हो भन्ने हाे। यो त्यस्तो दार्शनिक शब्द हो, जसलाई गौणपादले चलाए, आदि शंकराचार्यले उनको अनुवर्ती भएर प्रसार गरे। आजको सनातनी हिन्दू संसारमा त्यै व्याख्या अद्वैतवादको नाउँले चिनिन सकेको छ। यस मतले एउटामात्र ईश्वरीय सत्ता देख्तछ, जसलाई भन्ने गरिन्छ – ब्रह्म। यस मतमा प्रत्येक आत्मा ब्रह्मसँगै रहेको हुन्छ, त्यसैले मूल रूपमा त्यो ब्रह्मलाई नै आत्मा भनेर स्वीकारिएको हुन्छ। यसको भनाइमा हामीभित्रको अज्ञानले यस्तो कुरोलाई दुई वटा देख्ने गरेको मात्र हो। किनभने ज्ञान प्राप्त गरेपछि मात्र, हाम्रो आत्माले आफ्नो मूलस्वरूप ब्रह्मलाई प्राप्त गर्न सक्ने अवस्थामा पुग्दछ। आदि शंकराचार्यले मायाको अस्तित्वलाई कुनै पनि अर्थमा, कुनै पनि स्वरूपमा स्वीकारेनन्, त्यसलाई पटक्कै वास्ता गरेनन्। उनको तर्कमा माया भन्ने चीज एकदमै झूठो चीज हो। उनको भनाइमा माया एक किसिमको इल्यूज़न मात्र हो। हाम्रो अज्ञानताको कारणले गर्दा हामीले त्यसलाई बोध गर्न सकेका हौँ। किनभने मान्छेले ज्ञान प्राप्त गर्न थालेपछि त्यो माया आफै हराएर जान्छ। एउटै परमसत्ताको कुरो गरेर सबैलाई एउटैमा समेटने दर्शन नै अद्वैतवाद हो (Non -Dualism )।

यस सिद्धान्तमा ब्रह्म मात्र सत्य हो। कुनै पनि जीव ब्रह्मभन्दा अलग हुने सक्दैन। यो नामरूपात्मक जगत् झूठो हो। ब्रह्ममात्र सत्य हो। त्यसैले एउटा ब्रह्मलाई मात्र सत्य मान्ने विचारधारा अद्वैतवाद भनिएको हो र यसैलाई वेदान्त पनि भनिएको हो। अहम ब्रह्मास्मि, ‘सर्वं खल्विदं ब्रह्म’ (यो सबै ब्रह्म हो), तत्वमसि (तत् त्वम् असि), तिमी (जीव) त्यो (ब्रह्म) जस्ता महावाक्यले ब्रह्म अद्वैतताकै पुष्टि गर्न पुगेको हो। उपनिषदअनुसार महर्षि बादरायणले ब्रह्मसूत्रको रचना गरेका थिए र उनैले त्यसमा अद्वैतवादको प्रतिपादन गरिदिए। ब्रह्म सूत्रपछि गीताले ब्रह्मतत्वको विश्लेषण गर्‍याे। त्यसैले यी तीनै ग्रन्थलाई प्रस्थानत्रयी भनेर चिन्ने गरियो। बादरायणपछि यस मतका झन्डै एक दर्जन विद्वानहरु देखिए। तर शंकराचार्यको ठाउँ कसैले ओगट्न सकेनन्। एकमात्र स्थायी सत्ता भएको कारण, यो ब्रह्म भन्ने चीज निर्गूण, निराकार, अनादि, निरञ्जन, अद्वितीय र सर्वव्यापक मानिएको छ। यसमा मायाँ भन्ने चीज जतिखेर मिसिन पुग्दछ, त्यतिखेर त्यो निर्गूण ब्रह्म ईश्वर भनिन पुग्दछ र त्यै ईश्वर यस सृष्टिको कारण कहलिन्छ। यसरी ईश्वर ब्रह्मको अभिन्न अङ्ग हुन् पुग्दछन्। उनको भनाइमा यो नामरूपात्मक जगत् हाम्रो इन्द्रीयले देख्न सक्छ, ब्रह्मको सत्तालाई ब्रह्म तत्वद्वारा हेरेर त्यसको यथार्थता थाहा पाउन सकिन्छ। तसर्थ शंकराचार्यको मतमा यो जगत झूठो भनिएको हो।माया यो नामरूपात्मक, दृश्यात्मक जगत् रुपी ब्रह्मको विकार हो। ब्रह्म तत्वलाई भ्रामक बनाई त्यसमा परिवर्तन गराउन खोज्नु नै विकार हो। त्यतिखेर शंकराचार्यले बौद्ध र जैन दर्शनको खुबै विरोध गरे। किनभने, उनीहरुको त्यो अद्वैतवादी दर्शनले वर्ण-व्यवस्थाको समर्थन गरेको देखिएको थियो। त्यसैले शंकराचार्य ज्ञान र निर्गुण ब्रह्मको उपासनातिर मात्र केन्द्रित हुन पुगे। उनले ईश्वरलाई शिव रूपमा चिनाए, जन-साधारणलाई शैव उपासना सिकाएर ज्ञानमार्गद्वारा एकेश्वरवादमा छिर्न बाटो देखाए। शुरुशुरुमा यो अद्वैतवादका सर्जक गौणपाद (तेश्रो शताव्दी) मानिए पनि तिनका अनुवर्ती आदि शंकराचार्य (जम्मा वत्तिस वर्षको आयुमा मृत्युवरण गर्ने शंकराचार्य, (जन्म ७८८ -मृत्यु ८२०) ले यस दर्शनलाई उचाइमा पुर्‍याउन सकेकोले उनैलाई अद्वैत्वादको मर्मज्ञ मानिएको छ। त्यसैले उनलाई शिवजीको पूर्णावतार मानिएको हो।

(२) द्वैत

यस दर्शनका प्रवर्तक १२ औं शताव्दीका रामानुजाचार्य हुन्। यसलाई विशिष्टाद्वैत वेदान्त पनि भन्ने गरिएको छ। इनले एउटा ब्रह्मको कुरा स्वीकारेका छन्। तर, उनको भनाइमा एउटा वृक्षको हाँगाबिङ्गा, पात, फूल ,फल पनि हुन्छन्, जुन समग्रमा हेर्दा त्यस वृक्षका बेग्ला बेग्लै अङ्ग हुन्। यो कुरो स्वीकार्दा एउटै रुखमा धेरै विविधता रहेको भेटिन्छ। त्यसरी नै एउटै परमेश्वरको जीव (आत्मा ) र माया, परमात्मा आदि शब्दहरु ती परमेश्वरका विशेषण हुन्, अझ भनौं विशिष्ठ गुणहरु हुन्। त्यसैले यस दर्शनको नाउँ विशिष्ठ अद्वैतवाद राखिएको हो, जसलाई पश्चिमा समाजले Qualified Non -Dualism भन्ने गरेका छन्। यो दर्शनले मायालाई झूठो भन्दैन। यस दर्शनले ब्रह्म सत्य हो भने माया पनि सत्य हो भन्ने गर्दछ।

(३) द्वैताद्वैत

१२ औं शताव्दीमा माधवाचार्य भन्ने सन्त देखा परे, जसले पाँच किसिमको द्वैतवाद (Five Dualities) को कुरा गरे। पहिलो कुरा, माधवाचार्यको भनाइमा प्रत्येक मान्छेभित्र दुई किसिमको आत्मा हुन्छ। तर, त्यो आत्माहरु स्वरुप एकनाशको हुँदैन। एउटा मुक्त हुँदा अर्को बन्धनमै रहेको हुन्छ। भन्नुको अर्थ हरेक आत्माले आफ्नो स्वाभावअनुरुप संस्कार पाएको हुन्छ। त्यसैले तिनको स्वभाव बेग्लाबेग्लै भएको ठानिन्छ। दोश्रो कुरा, उनले माया (Material energy) र आत्माबिच फरक देखाए। उनको भनाइमा माया जड़ हो, यसमा भौतिक उर्जा हुने गर्दछ। तर, आत्मा जीव हो, चैतन्य हो अर्थात् चेतनाको स्तर हो। तेश्रो कुरा, उनले त्यो मायामा पनि फरक देखाए। उनको विचारमा जसरी हामीले केही कुरा आफ़्ना लागि खाद्य र अखाद्य भनेर छुट्ट्याउँछौं त्यसरी नै समस्त भौतिक उर्जाका स्वरुपहरु हाम्रा लागि फरक फरक हुन पुग्दछन्। चौ‌ंथो कुरा, उनको भनाइमा माया र ब्रह्मबिच द्वैधभाव (द्वैत) रहेको हुन्छ। परमात्मा सर्वशक्तिमान रचनाकार (Creator) हुन् भने माया तिनको शक्ति (Energy) हो। परमात्मा सनातन सत्य हो। ज्ञान र आनन्दको सागर हो। कोही पनि मान्छेले मायाको शक्ति परमात्माबाट पाउँछ, तसर्थ परमात्मा मायाको आश्रयस्थल हो। पाँचौं कुरा, उनको भनाइमा आत्मा र परमात्मा बेग्लाबेग्लै कुराहरु हुन्। आत्मा मायासँग आवद्ध रहेको हुन्छ। अनि, परमात्माले मायामाथि शासन गरेको हुन्छ। आत्मा ज्ञानस्वरूप हो। तर, उसको ज्ञान सधै सीमित हुन्छ। आत्मा सर्वज्ञ (सर्वज्ञाता) हो। आत्माको चेतना (चेतन तत्व) एउटै शरीरमा मात्र हुन्छ भने परमात्मा सर्वत्र अर्थात् सारा सृष्टिमा व्याप्त रहेका हुन्छन्। आत्माले शान्ति र आनन्द खोज्ने गर्दछ। तर, परमात्मा सधै स्वयं आनन्दित भइरहन्छ। त्यसैले आनन्दलाई परमात्माको नाउँले पुकारिएको हो। जहाँ आनन्द हुन्छ, त्यहाँ परमात्माको वास हुन्छ। यो आनन्द कहिल्यै सीमित हुन्न, सधै असीमित रहन्छ। परमात्मा यो संसारको होइन, त्यो संसारको हो। त्यसैले भगवान कृष्ण भन्दछन्, जहाँ आनन्द छ त्यहाँ म पनि रहन पुग्दछु, त्यस अर्थमा त्यो आनन्द भनेको म नै हुँ। हाम्रो परम्परामा सधै द्वैतवादको बोलबाला रहेका कारण यो समस्त परम्परालाई द्वैतवाद भन्ने गरिएको हो (Dualism )।

(४) विशिष्ठाद्वैत (द्वैत-अद्वैतवाद)

११ औं शताब्दीका निम्बकाचार्य यस वेदान्तका प्रतिपादक मानिन्छन्। उनी अद्वैत र द्वैत दुबैलाई सही र स्तुत्य ठान्दछन्। उनको भनाइमा समुन्द्र र त्यसमा पर्ने पानीको थोपा दुईटै अलग अलग कुरा हुन्। यसरी हेर्दा आत्मा त्यही परमात्माकै अंश हो। अब त्यो अंश र अंशीलाई बेग्लाबेग्लै पनि मान्न सकिन्छ वा होइन यी दुईटा एउटै हो पनि भन्न सकिन्छ किनभने शक्ति, शक्तिमानभन्दा अलग्ग रहन सक्तैन, सधै शक्तिमान सँगै रहन्छ।

(५) विशुद्ध अद्वैतवाद (Pure Non -Dualism)

१५ औं शताब्दीका वल्लभाचार्य यस वेदान्तका प्रवर्तक मानिन्छन्। यसलाई कसै कसैले शुद्धद्वैत वेदान्त पनि भन्ने गर्दछन्। इनले आदि शंकराचार्य जस्तो मायाको अस्तित्वलाई अस्वीकार गरेका छैनन्। उनले मायालाई इल्यूज़न वा झूठ पनि भनेका छैनन्। उनको भनाइमा दुईटैको अस्तित्व छ। तर, परमात्माका साथमा रहन पुग्दा यी दुबैको अस्तित्व एउटै हुन पुग्दछ, अर्थात् माया परमात्माको शक्ति हो। त्यसैले आत्माको परमात्मासँग विलय हुन सक्तछ। आत्माले परमात्मालाई भेट्न सक्तछ।

(६) अचिन्त्य भेदाभेद

१५ औं शताब्दीका चैतन्य महाप्रभु यस वेदान्तका प्रतिपादक हुन्। उनको भनाइमा जसरी गर्मी र प्रकाश आगोकै शक्ति हो। त्यसरी नै गर्मी र प्रकाश ऊर्जाका दुई बेग्ला बेग्लै स्वरुप भए पनि, दुईटै एकैसाथ रहेका ठानिन्छन्। यसलाई अग्निको रूपबाट अलग्याउन सकिन्न। त्यसैगरी आत्मा र माया दुईटै कुरोले परमात्माको शक्ति भएर काम गर्ने गर्दछ। दुवै उसैका शक्ति हुन्। तर बेग्ला बेग्लै काम गर्दछन्, अलग अलग बस्छन्। तर सधैं साथ रहन्छन्। साधारण किसिमले यी कुराहरुलाई त्यही रूपमा बुझ्न सकिन्न। यसलाई बुझ्न प्रज्ञा चक्षु चाहिन्छ। त्यसैले उनले यो मतलाई अचिन्त्य भेदाभेदवाद भन्न पुगे।

(स्राेत : नेपाली विकिपिडिया)