वेदान्त दर्शन र द्वन्द्वात्मक भौतिकवाद

East globe
  • 163
    Shares
लाेकपाटी न्यूज

वेदान्त दर्शन र मार्क्सीय दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला। तर रोचक काम चाहिँ निश्चय नै हो। एकथरिले अर्काथरिलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति नहिच्किचाउने अहिलेको परिस्थितिमा यो कार्य थाल्नुअघि दुबैथरि अतिवादीका प्रहार खप्ने क्षमता नभई यसमा हात हाल्नु अझ खतरनाक हुन सक्दछ। खोजिपसेमा वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा दार्शनिक बहसका अनेक पक्षहरू भेटिइने र त्यसले उपलब्धि हासिल हुने निश्चित छ।

द्वन्दात्मक भौतिकवादी अवधारणाअनुसार यो जगत्मा नयाँ र पुरानोबिचमा द्वन्द चलिरहन्छ र पुरानोको निषेध नगरी नयाँ अस्तित्वमा आउँदैन। उदाहरणका निमित्त, जब बीज स्वयम् नष्ट हुन्छ, तबमात्र त्यसबाट अंकुर उत्पन्न हुन्छ; दूधको अस्तित्व मेटिएरमात्र दही बन्छ; यसरी ‘कारण’ स्वयम् नष्ट भएरमात्र ‘कार्य’ उत्पन्न हुन्छ। मार्क्सवादीहरूले निषेधको सिद्धान्त व्याख्या गर्दा अहिले भन्ने गरेजस्तो वास्तवमै ‘निषेध’ नै नभएर पहिले त्यसबाट ‘रूपान्तरण’लाई बताउन खोजिएको थियो भन्ने कुरा स्पष्ट जस्तै छ तापनि मार्क्सीय पण्डाहरूको कोकोहोलोमा त्यो व्यहोरा पछाडि परेको छ। पुरानोको ध्वंशलाई नयाँको आधारशिला मान्ने प्रवृत्तिचाहिँ मार्क्सवादको जामा लगाउन सफल भएको देखिन्छ।

वेदान्त-दर्शन (ब्रहृमसूत्र)का सूत्रहरू लेखिँदा मार्क्सवादको अत्तोपत्तो थिएन तापनि त्यसबेला यस्तैखाले मत राख्नेहरू नभएका होइनन्। तिनको मत के थियो भने जसरी दूधको अस्तित्व मेटिएर दही बन्यो, त्यसरी नै ‘अभाव’बाट नै ‘भाव’को उत्पत्ति हुन्छ; अर्थात्, पुरानोको मरण- नयाँको जीवन। वेदान्त-दर्शनमा यस मतलाई “पुरानोको मरण र नयाँको जीवन” भन्ने तरिकाबाट होइन कि ‘रूपान्तरण’को कोणबाट व्याख्या गरिएको छ। ब्रहृमसूत्र- २।२।२६ (नासतो˜दृष्टत्वात्) को आशय के हो भने ‘अभाव’बाट नै ‘भाव’को उत्पत्ति हुन्छ -अर्थात्, पुरानोको मरण (नयाँको जीवन) भनेर मान्नु गलत हो र दूधबाट दही बन्दाखेरिमा दूधको अभाव हुने (वा दूध नष्ट भएको) होइन कि रूपान्तर भएको मात्र हो। यदि दूधमा दहीको अस्तित्व नरहेको भए दूधबाट दही प्राप्त गर्न सकिँदैनथ्यो – जस्तै पानीबाट दही कहिल्यै प्राप्त हुन सक्दैन; दूधमा दहीको अस्तित्व रहेको हुनाले नै दूधबाट दही प्राप्त गर्न सकिएको हो। यहाँ पुरानोको ध्वंश नयाँको आधारशिला होइन, पुरानोमा नयाँको अस्तित्व निहित रहेको र सापेक्षता अनुरूप रूपान्तरण भएको हो। यसमा परिवर्तनको विज्ञान-सम्मत नियमको सही व्याख्या देखिन्छ।
अर्को उदाहरणबाट हेर्ने हो भने यदि बीजमा वृक्ष निहित नरहेको भए बीज रोपेर वृक्ष प्राप्त गर्न सकिने थिएन। बीजरोपण गरेर वृक्ष प्राप्त गर्न सकिनुको अर्थ यही होकि बीजमा वृक्ष निहित थियो। यहाँ वृक्ष बन्नुको अर्थ बीजको निषेध किन पनि होइन भने वृक्षमा पुनः बीज निहित छ नि त ! बीजबाट अंकुर तथा दूधबाट दही बन्नु त रूप-परिवर्तन मात्र हो। यहाँ बीजमा अंकुर वा वृक्षको अस्तित्व कसरी सदा विद्यमान हुन्छ; अथवा दूधमा दही कसरी निहित हुन्छ भन्ने बुझ्नका लागि स्थूल शरीर, सूक्ष्म शरीर, कारण शरीर जस्ता अवधारणालाई जान्नुपर्ने हुन्छ। संक्षेपमा वेदान्त दर्शनले “अभावबाट भावको उत्पत्ति हुँदैन” भनेर के स्पष्ट पारेको छभने नयाँ आउन पुरानोको समूल ध्वंश गर्ने होइन कि पूरानोलाई सही रूपान्तरण गर्न सक्नुपर्दछ। मार्क्सवादको आरम्भिक उद्घोषणताका निषेधको नियम बनाइँदा यही कुरा बताउन खोजिएको थियो होला। तर, जस्तो कि माथि भनिसकिएको छ (पुरानोको ध्वंशलाई नयाँको आधारशीला मान्ने प्रवृत्तिचाहिँ मार्क्सवादको जामा लगाउन सफल भएको देखिन्छ; यसैको कारणले आज जहाँ पनि मार्क्सवाद वा यसका उत्तरवर्ती माओवादका नाममा ‘क्रान्ति’ आरम्भ गरिन्छ तब उनीहरू ध्वंशलाई अधिकाधिक महत्व दिन्छन्। हाम्रो देश आज त्यही ध्वंशात्मक मनोवृत्तिबाट ग्रसित भएर त्रासदीमा खँगारिएको छ। एउटा दर्शनको व्याख्या गर्दा तलबितल पर्न गएमा कत्रो बिढंग पर्छ भन्ने तथ्यको यो जल्दोबल्दो उदाहरण हो।

“अभावबाट भावको उत्पत्ति हुँदैन” भन्ने वेदान्त-दर्शनको अवधारणालाई अर्को एक प्रसंगमा चाहिँ मार्क्सपन्थीहरूले स्वीकार गरेका छन्। मार्क्सीय स्कूलहरूमा एउटा उदाहरण बारम्बार दिइन्छ कि अण्डा कोरल्न बसेकी कुखुरीलाई अण्डा जस्तै देखिने ढुंगो वा अरु केही अण्डाकार वस्तु राखिदिने हो भने उसले जतिसुकै कोरलेता पनि त्यसबाट चल्ला जन्मँदैन; चल्ला जन्मन त वास्तविक अण्डानै कोरल्नुपर्दछ। यस उदाहरणबाट उनीहरू के मान्यता स्थापित गर्दछन् भने कुनै पनि कार्य हुनका लागि कारण पनि त्यसैभित्र निहित हुन्छ। बस्, वेदान्त-दर्शनको मान्यता यही त हो नि। वेदान्त-दर्शन र द्वन्दात्मक भौतिकवादबिचको यो रोचक संयोगलाई सकारात्मक दिशातर्फअघि बढाउँदै ‘पुरानोको ध्वंश’ वा ‘पुरानोको सही रूपान्तरण’ भन्ने फरकपनलाई सुल्झाउन सकिएमा मानव समाजका लागि ठूलै उपलब्धि हासिल हुनेछ। मार्क्सवाद वा माओवाद वा अरु कुनै वादको नाममा पुरानाको ध्वंशका लागि ज्यान छाडेर लागेकाहरूलाई दार्शनिक अवधारणागत तहमै सच्याउन सकिएमा विश्वका अनेक भू-भागमा हिंस्रक युद्धोन्मादी ‘क्रान्ति’मा खर्च भइरहेको उर्जालाई सकारात्मक क्रान्तिका लागि – समाजको सही रूपान्तरणका लागि खर्चन सकिने र यसबाट कालान्तरमा समस्त मानवता नै लाभान्वित हुने तथ्यतर्फ हाम्रो ध्यान आकर्षित हुनुपर्दछ, अस्तु।

(निर्मलमणि अधिकारीको साइटबाट लिइएको सामग्री)