मेलम्चीका ठेकेदार काममा फर्कँदै

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस । एक साताअघि एकतर्फी रूपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलार्ई पत्र लेखेर काममा फर्किने प्रतिबद्धता जनाएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

सिएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए ।

‘ठेकेदार कम्पनीले नयाँ वर्ष मनाएर फर्किएसँगै काममा फर्किने प्रतिबद्धतासहितको पत्र पठाएको छ,’ उनले भने, ‘पटकपटक वार्ता गरेरै सहमतिको वातावरण सिर्जना गरेका हौं । अब मेलम्चीको कामले निरन्तरता पाउने आशा छ ।’ सचिव ठाकुरका अनुसार मन्त्रालय र ठेकेदार कम्पनीबीचको विभिन्न चरणको वार्ताकै कारण स्थिति सकारात्मक बनेको हो । उनका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर ठेकेदार काममा फर्कनेछ ।

ठेकेदारको गतिविधिका कारण अन्तिम चरणमा पुगेको मेलम्ची आयोजनाबाट उपत्यकामा पानी कहिले भित्रिने भन्ने अन्योल छाएको थियो । ठेकेदार कम्पनीसँग विवाद बढेपछि खानेपानी मन्त्रालयले सिएमसीको बैंक धरौटी जफत गर्न नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पत्राचार गरेको थियो । निरन्तरको वार्ताका कारण पछिल्लो समय ठेकेदार कम्पनी र मन्त्रालयबीचको विवाद अलि मत्थर भएको सचिव ठाकुरको भनाइ छ ।