काठमाडौंको तापक्रम दुई डिग्रीमा झर्‍यो

Cold
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस । काठमाडौंको न्यूनतम तापक्रम दुई डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हुँदा अझै चिसो बढ्ने उल्लेख गरे । ‘अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ,’ उनले भने ।