राजपाका मागप्रति लच्किए ओली

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीले राखेका मागहरु पूरा गर्न सरकार तयार भएको बताएका छन् । राजपाले संविधान संशोधन हुनुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजपाका टोलीसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायतका माग चाँडोभन्दा चाँडो समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताएका हुन् ।

राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहँदा प्रधानमन्त्री ओलीले उनीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि मागेको बताए ।

राजपा नेपालका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले माग सम्बोधनका लागि आवश्यक तयारीका लागि समय मागेको जानकारी गराए । राजपाका नेताहरुले प्रधानमन्त्री ओलीसमक्ष संविधान संशोधन नगरेको, सांसद रेशम चौधरीलाई शपथ खुवाउने व्यवस्था नगरेको र विभिन्न राजनीतिक आन्दोलनमा जेल चलान भएका कार्यकर्तालाई रिहा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।