मार्क्सवादी स्कुल : अतिरिक्त मूल्यको सिद्धान्त

Karl Marx-5
  • 953
    Shares
अनुवादकः भेषराज भुसाल

मालहरूमा मूल्य श्रमबाट बन्दछ। यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ। श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ। कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ, श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ। के यसको अर्थ यस्तो हुन्छ– कुनै व्यक्ति जति नै अल्छी र अकुशल हुन्छ, उसले बनाएको माल त्यति नै मूल्यवान् हुन्छ ? यो कुनै हालतमा होइन।

कुनै मालको उत्पादनका निम्ति अलगअलग माल उत्पादकहरूलाई अलगअलग समयसम्म श्रमको आवश्यकता पर्दछ। यसका कारण स्पष्ट छन्। केही मानिस अरूभन्दा धेरै कुशल हुन्छन् र केही मानिसहरूले अरूभन्दा राम्रा औजार र उपकरणहरूको प्रयोग गर्दछन्। स्वाभाविक छ– धेरै कुशल र राम्रा औजारहरू प्रयोग गर्ने व्यक्तिहरूद्वारा लिइएको समय कम कुशल र भद्दा औजारहरूको प्रयोग गर्ने व्यक्तिहरूले लिएको समयभन्दा कम नै होला। त्यसो हो भने मालहरूको मूल्य निर्धारण गर्नका निम्ति कुन श्रमकालको उपयोग गर्नुपर्ला ?

विभिन्न माल उत्पादनहरूद्वारा माल उत्पादनमा खर्च गरिएको श्रमकाललाई व्यक्तिगत श्रमकाल भन्ने गरिन्छ। उदाहरणका निम्ति केही सिकर्मीले एउटा कुर्सी बनाउन तीस घन्टा लगाउँछन्, केहीले पच्चीस घन्टा र अन्यले बीस घन्टा। यी सबै व्यक्तिगत श्रमकाल हुन्। मालहरूको मूल्य व्यक्तिगत श्रमकालबाट होइन, बरु सामाजिक रूपबाट आवश्यक श्रमबाट तय हुने गर्दछ। ‘सामाजिक रूपबाट आवश्यक श्रम उत्पादनको विद्यमान सामान्य स्थितिहरूमा त्यस समयको औसत कुशलताद्वारा कुनै उपयोग मूल्यको उत्पादनमा लागेको श्रमकाल हुने गर्दछ।’ उत्पादनका सामान्य स्थितिहरूमा तथा औसत कुशलता वा गहनतासँग एउटा कुर्सी बनाउन लागेको समय २५ घन्टा छ भने त कुर्सी बनाउनका निम्ति सामाजिक रूपबाट आवश्यक श्रम २५ घन्टा हुन्छ । यो २५ घन्टाको श्रम कुर्सीको मूल्य निर्धारण गर्ने सामाजिक रूपबाट आवश्यक श्रम हो।

श्रमद्वारा मूल्य निर्धारणको चर्चा गर्दा केवल व्यक्तिगत श्रम र सामाजिक रूपबाट आवश्यक श्रमका बीचमा मात्र होइन, साधारण श्रम र जटिल श्रमका बीचमा पनि अन्तर गर्नुपर्दछ। साधारण श्रम त्यो श्रम हो, जुन कुनै सामान्य स्वस्थ व्यक्तिद्वारा बिनाकुनै विशेष प्रशिक्षण गर्न सकिन्छ। जटिल श्रम विशेष प्रशिक्षण प्राप्त कुशल मजदुरद्वारा गरिएको श्रम हो। त्यसकारण एउटा निश्चित समयावधिमा सामान्य श्रमद्वारा निर्मित मूल्य जटिल श्रमद्वारा निर्मित मूल्यभन्दा थोरै होला, जटिल श्रम कैयौँ साधारण श्रमहरूको योग हुने गर्दछ। जटिल र साधारण श्रमका बीचमा आपसी परिवर्तन विनिमयको प्रक्रियामा स्वतः भइरहन्छ।

निजी श्रम र सामाजिक श्रमको अन्तरविरोध माल उत्पादनको आधारभूत अन्तरविरोध हामीले मालहरूको दोहोरो प्रकृति, माल उत्पादनमा श्रमको दोहोरो प्रकृति र मालको मूल्यको विश्लेषणमा गरेका छौँ। यस आधारभूत बुझाइबाट हामीले माल उत्पादनका अन्तरविरोधहरूलाई अझ विश्लेषण गर्न सक्छौँ।

मालहरूलाई श्रम उत्पादनहरूको विनिमयका निम्ति प्रयोग गर्ने गरिन्छ। माल उत्पादक आफ्ना आवश्यकताहरूका लागि माल उत्पादन गर्दैनन्। उदाहरणका निम्ति कामीले फौरा यसकारण बनाउँदैन किनकि उसलाई त्यसको आवश्यकता छ। उसको उद्देश्य फौराहरू बेचेर तिनको मूल्य गर्ने हुन्छ ताकि त्यसको बदलामा आफ्ना आवश्यकताका चामल र कपडा प्राप्त गर्न सकोस्। माल उत्पादकहरूका निम्ति यो एकदम महत्वपूूर्ण हुने गर्दछ– उसको माल बिक्छ कि बिक्दैन।

मालले उपयोग मूल्य र मूल्यका विपरीत बिन्दुहरूलाई जोड्छ। ती मालमा त एकीकृत हुन्छन्, साथै एक अर्काका विपरीत पनि हुन्छन्। त्यो माल बिक्यो भने त तिनका आन्तरिक अन्तरविरोध हल हुन पुग्छन्। जब एउटा फौरा त्यस्तो किसानको हातमा पुग्छ जसलाई त्यसको आवश्यकता हुन्छ, त्यो मूर्त श्रम अमूर्त श्रममा बदलिन पुग्छ र कामीलाई उसको फौराको मूल्य प्राप्त हुन्छ। फौराको उपयोग मूल्य र मूल्य पनि एक हुन पुग्छ। त्यो माल बेच्न सकिएन भने त उपयोग मूल्य र मूल्य तथा मूर्त श्रम र अमूर्त श्रमका अन्तरविरोध तुरुन्तै सतहमा आउँछन्। यद्यपि फौरामा उपयोग मूल्य त रहेकै हुन्छ। त्यो बिकेन भने त त्यसको मूल्य प्राप्त हुँदैन र त्यो फौरा फोहोरको थुप्रोभन्दा अरू केही हुँदैन। यस्तो स्थितिमा कामीको मूर्त श्रम जसमा निश्चितै शारीरिक–मानसिक श्रम खर्च भएको छ, अमूर्त श्रममा परिवर्तन हुन सक्दैन। अर्को शब्दमा उसको श्रम समाजद्वारा स्वीकृत हुँदैन र बेकारमा खेर जान्छ। यस्तो हालतमा कामीसँग अरू उत्पादन गर्नका निम्ति काँचो फलाम तथा कोइला किन्नका लागि कुनै साधन रहँदैन। ऊसँग आफ्नो आजीविकाका लागि इन्धन, चामल, तेल र नुन किन्नका लागि कुनै साधन रहँदैन। उपयोग मूल्य र मूल्य तथा मूर्त र अमूर्त श्रमका बीचको अनतरविरोध माल उत्पादकको उत्पादन र आजीविकालाई सिधै प्रभावित गर्दछ।

माल उत्पादनमा यी अन्तरविरोध कसरी पैदा हुने गर्दछन् ? त्यसका स्रोत के हुन् ? निजी स्वामित्वअन्तर्गत माल उत्पादनको एउटा आधारभूत अन्तरविरोध हो। यो हो निजी र सामाजिक श्रमका बीचको अन्तरविरोध। माल यद्यपि विनिमयका निम्ति प्रयोग हुने श्रम उत्पादन हुने गर्दछन् र उत्पादनद्वारा निर्मित उपयोग मूल्य उसको आवश्यकताका निम्ति होइन बरु सामाजिक आवश्यकताहरूको पूर्तिका निम्ति हुने गर्दछ। त्यसकारण माल उत्पादकको श्रमको प्रकृति सामाजिक हुन्छ। यो समग्र सामाजिक श्रमको एक भाग हुने गर्दछ। परन्तु निजी स्वामित्वका स्थितिहरूको मातहत, के र कति उत्पादन गर्ने हो तथा त्यसबाट आय कति हुने हो यो उत्पादकको निजी श्रमको प्रकृति पनि हुने गर्दछ। निजी र सामाजिक श्रमका बीचको यो अन्तरविरोध निजी स्वामित्वमातहत माल उत्पादनका सम्पूर्ण अन्तरविरोधहरूको मुख्य स्रोत हो। जब निजी उत्पादकले बनाएका माल बजारमा बिक्री हुन्छन्, तब यसबाट यो जानकारी मिल्छ– यसको निजी श्रम समाजद्वारा स्वीकार गरियो र त्यो सामाजिक श्रमको एक भाग बन्न पुग्छ। माललाई बिक्री गर्न सकिएन भने त माल उत्पादकको निजी श्रम समाजद्वारा स्वीकार गरिँदैन र त्यसलाई सामाजिक श्रममा बदल्न सकिँदैन। माल उत्पादकको मूर्त श्रमलाई अमूर्त श्रममा बदल्न सकिँदैन। त्यसकारण मालको मूल्य प्राप्त गर्न सकिँदैन। मार्क्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो।

श्रमको दोहोरो प्रकृतिको विश्लेषणको माध्यमबाट मार्क्सले श्रम सिद्धान्तको रचना गर्नुभयो। यो सिद्धान्तले वैज्ञानिक ढङ्गबाट देखाउँछ– मूर्त श्रमले मालहरूको उपयोग मूल्यको निर्माण गर्दछ जब कि अमूर्त श्रमले मालहरूको मूल्य निर्धारण गर्दछ। श्रम नै मूल्यको एक मात्र स्रोत हो। मार्क्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो। मार्क्सवादी राजनीतिक अर्थशास्त्रको एउटा महत्वपूर्ण सङ्घटक अङ्ग हो।

मार्क्सवादी सिद्धान्तको मार्गनिर्देशन पाउनुभन्दा पहिले सर्वहाराले आफ्ना दुःखहरूको स्रोत बुझ्न पाएको थिएन र आफ्ना सङ्घर्षका लक्ष्यहरूको पहिचान थिएन। केहीलाई यस्तो गलत बुझाइ थियो– उनीहरूका दुःखहरूको कारण मेसिन हुन्। एकपल्ट मेसिनहरूलाई नष्ट गर्ने सङ्घर्षको एउटा तरिकाका रूपमा पनि अपनाउन पुगे। मार्क्सले सर्वहारा सङ्घर्षहरूको लामो अनुभवलाई संश्लेषण गर्नुभयो र पुँजीवादी शोषणको रहस्यलाई पर्दाफास गर्नका निम्ति अतिरिक्त मूल्यको सिद्धान्तको रचना गर्नुभयो। यसबाट सर्वहारा वर्गलाई आफ्नो ऐतिहासिक मिसनको र यस तथ्यको महसुस भयो– केवल हिंसात्मक क्रान्तिको माध्यमबाट र पुँजीवादको स्थानमा समाजवाद ल्याएर नै ऊ मुक्त हुन सक्छ। मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्त मूल्यको श्रम सिद्धान्तमा आधारित छ। मूल्यको श्रम सिद्धान्तबिना अतिरिक्त मूल्यको सिद्धान्त स्थापित हुन सक्दैनथ्यो।

यद्यपि मार्क्सको मूल्यको श्रम सिद्धान्तले सर्वहारा क्रान्तिकारी सङ्घर्षहरूलाई मार्गदर्शन दिन्थ्यो। त्यसकारण बुर्जुवा अर्थशास्त्रीहरूले मूल्य र श्रमको सम्बन्धविच्छेद गर्न, मार्क्सको मूल्यको श्रम सिद्धान्तको विरोध गर्न र पुँजीवादी शोषणमाथि पर्दा हाल्न असफल प्रयासमा हरेक तरहका अवैज्ञानिक मूल्यका सिद्धान्तहरूलाई स्थापित गर्न भरपूर कोसिसहरू गरे।

भुँडे अर्थशास्त्रीहरूका बीचमा एक समय मूल्यको उत्पादन लागत सिद्धान्त प्रचलित थियो। यस सिद्धान्तले मन्दथ्यो– मालको मूल्य त्यसको उत्पादनमा लागेको लागत (उत्पादनका साधनहरूको मूल्य र ज्याला) बाट तय हुने गर्दछ। कुनै मालको मूल्य वास्तवमा उत्पादन लागतबाट हुँदो हो त माल बिक्री भएपछि पुँजीपतिको उत्पादनका क्रममा खर्च भएको लागत नै फिर्ता मिल्थ्यो। यसप्रकारले बिचरा ऊ कसरी अमीर बन्न सक्थ्यो ? मजदुरको शोषण कसरी हुन्छ ? यसप्रकार ती भुँडे अर्थशास्त्रीले भन्दथे– मूल्य उत्पादन लागतबाट तय हुने गर्दछ। वास्तवमा मुनाफाको व्याख्या उच्चतम् पारिश्रमिक संशयका निम्ति पुरस्कार र जोखिमको बदला पुरस्कारका रूपमा गर्दथे। यो बुर्जुवा वर्गका पक्षधरका रूपमा उनीहरूको फोहोरी भूमिकालाई स्पष्ट गर्दछ।

बुर्जुवा भुँडे अर्थशास्त्रीहरूका बीचमा एउटा समयमा मूल्यको उपयोगिता सिद्धान्त पनि प्रचलित थियो। त्यस सिद्धान्तअनुसार कुनै मालको मूल्य त्यसमा निहित उपयोगिताको परिमाणबाट तय हुने गर्दछ। त्यसो भए उपयोगिता के हो ? वास्तवमा यो कुनै मालको उपयोग मूल्य हुने गर्छ।

हामीले पहिले नै भनिसकेका छौँ– विभिन्न मालहरूको अलगअलग उपयोग मूल्य हुने गर्दछ जसलाई आपसमा तुलना गर्न सकिँदैन। यो एकदमै बिनातुकको कुरा हो– कुनै मालको मूल्य उसको उपयोग मूल्यबाट तय हुने गर्दछ। मूल्यको उपयोगिता सिद्धान्त प्रतिपादन गर्नेहरूले बुद्धिमत्तापूर्ण ढङ्गबाट यस कुराको व्याख्या गर्न सकेनन्– मानव जीवनका निम्ति आवश्यक हावा र घामजस्ता वस्तुहरूमा मूल्य किन हुँदैन र तिनलाई मालका रूपमा बेच्न किन सकिँदैन।

बुर्जुवा भुँडे अर्थशास्त्रीका बीचमा एउटा लोकप्रिय सिद्धान्त मूल्यको भाग र आपूर्तिको सिद्धान्त थियो। यस सिद्धान्तले यस कुरालाई नकार्दथ्यो– कुनै मालको कुनै वस्तुगत अन्तरनिहित मूल्य हुने गर्दछ। त्यसका अनुसार मालहरूको मूल्य बजारमा आपूर्ति एवं मागको स्थितिबाट निर्धारित हुने गर्दछ। जब कुनै मालको आपूर्ति उसको मागभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य कम हुने गर्दछ र त्यसको मूल्य पनि कम हुने गर्दछ। जब कुनै मालको माग उसको आपूर्तिभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य धेरै हुन्छ र त्यसको मूल्य पनि धेरै हुन्छ। यो सिद्धान्त स्पष्टतः भ्रान्तिपूर्ण थियो। मूल्यको माग र आपूर्तिको सिद्धान्तका प्रतिपादकले यो बताउन सकेनन्– आपूर्ति र माग बराबर भएमा मालको मूल्य कसरी तय हुन्छ र यो पनि सम्झाउन सकेनन्– विभिन्न मालहरूका निम्ति माग र आपूर्तिका बदलिइरहने सम्बन्धहरूका बीचमा कुनै माल सदैव अन्य मालभन्दा धेरै महँगा किन हुने गर्दछन्।

यद्यपि बुर्जुवा अर्थशास्त्रीहरूले मालको श्रम सिद्धान्तलाई खारेज गर्न हरसम्भव प्रयत्न गरे तर सत्यलाई कहिल्यै खारेज गर्न सकिँदैन। बुर्जुवा वर्गका विभिन्न छद्म वैज्ञानिक सिद्धान्तहरूका विरुद्ध आफ्नो सङ्घर्षमा मूल्यको मार्क्सवादी श्रम सिद्धान्त एक मात्र सत्य सिद्धान्त सिद्ध हुन पुग्यो।

मुद्रा माल विनिमयको विकासको एउटा स्वाभाविक उपज हो। मुद्रा सार्वभौमिक समतुल्यको कार्य गर्ने एक विशेष माल हो।

मुद्राको सम्बन्ध मालहरूसँग हुन्छ किनभने दैनिक जीवनमा मालहरूको मूल्य मुद्राका रूपमा अभिव्यक्त हुने गर्दछ। मालहरूलाई मुद्राबाट खरिद गरिन्छ। यद्यपि सुरुदेखि नै यस्तो थिएन। मुद्रा उत्पादन र विनिमयको विकासको उपज हो। माल विनिमयको सुरुआत मालहरूको सीधै आपसमा अदलाबदलीबाट सुरु भयो। प्रारम्भमा पशुपालक कबिला र कृषक कबिलाहरूले आफ्नो अतिरिक्त उत्पादनहरूलाई आपसमा विनिमय गर्दथे। उदाहरणका निम्ति भेडाहरूसँग चामलको विनिमय गरिन्थ्यो। त्यस समयमा मालहरूको विनिमय समयसमयमा हुने गर्दथ्यो र यो मुख्यतः गोत्र कम्युनहरूका भित्र नै चल्थ्यो। विनिमयप्रक्रियामा एउटा मालको मूल्य कुनै अर्को मालका रूपमा अभिव्यक्त हुने गर्दथ्यो। उदाहरणका निम्ति दुई वटा भेडा एक बोरा चामलको बराबर हुन्थ्यो। भेडाको मूल्य स्वार्थमा नाप्न सकिँदैनथ्यो। जव भेडाहरूको चामलसँग विनिमय हुन्थ्यो, तब भेडाको मूल्य चामलका रूपमा अभिव्यक्त हुने गर्दथ्यो। उपरोक्त समीकरणमा चामलजस्ता मालहरूको एक ‘समतुल्य’को भूमिका हुन पुग्दथ्यो।

तिनीहरू एउटा ऐनाजस्तै समान हुन्थे, जसमा अर्का मालहरूको मूल्य प्रतिबिम्बित हुने गर्दथ्यो। उत्पादक शक्तिहरू र श्रमको सामाजिक विभाजनको विकाससँगसँगै माल विनिमय दिनप्रतिदिन विकसित हुँदै गयो। विनिमय गरिने मालहरूको परिमाण र विविधता दुवै बढे। विनिमयको प्रक्रियामा एउटा मालको कैयौँ अन्य मालहरूसँग हुन सक्थ्यो। साथै माल विकाससँगै मालहरूको सीधै अदलाबदलीबाट हुन जाने नोक्सान पनि अधिकाधिक देखिन थाल्यो। सिधै अदलाबदली तब मात्र सम्भव हुन सक्थ्यो, जब दुवै पक्षलाई त्यसै वस्तुको आवश्यकता हुन्थ्यो, जुन दोस्रो पक्षले दिइरहेको हुन्थ्यो। उदाहरणका निम्ति मान्नुस्, भेडाको मालिकले अनाजसँग विनिमय गर्न चाहन्छ। तर अनाजको मालिकलाई भेडाको बदला फौराको आवश्यकता होस् र फौराको मालिकले भेडा वा अनाजको बदला कपडा लिन चाहेको होस्। कपडाको मालिकलाई भेडाको आवश्यकता भएमा भेडा बेच्नेले यसरी पाउन सक्थ्यो– उसले पहिले भेडाको बदला कपडा लिने, फेरि कपडासँग फौरा र अन्त्यमा फौराको बदला अनाज। विनिमयको वाञ्छित उद्देश्य धेरै कठिनाइबाट पूरा हुन सक्थ्यो। कपडावालालाई भेडाको आवश्यकता हुँदैनथ्यो भने उसले तमाम दुःख उठाएर पनि आफ्नो आवश्यकताको वस्तु पाउन सक्दैनथ्यो। यसप्रकार माल उत्पादनको उत्तरोत्तर विकसित हुँदै जाँदा प्रत्यक्ष वस्तु विनिमय एकदम मुस्किल हुँदै गयो। माल विनिमयका क्रममा सुस्तसुस्त मानिसहरूको बुझाइमा आयो– उनीहरूले पहिले मालको विनिमय कुनै यस्तो मालबाट गरौँ, जुन आमरूपमा मानिसहरूको आवश्यकता होस् (जस्तै भेडा) र फेरि त्यसको उपयोग आफ्नो आवश्यकताको माल लिनका निम्ति गरौँ, तब विनिमयको वाछित उद्देश्य मात्र दुई सौदामा पूरा हुन सक्थ्यो। यसप्रकार माल विनिमयको लामो विकासमान प्रक्रियामा भेडाजस्तै माल अन्य मालहरूबाट अलग भए र तिनीहरूको एउटा यस्तो भूमिका बन्यो जुन अन्य मालहरूका निम्ति सम्भव थिएन। त्यस्तो अवस्थामा सबै मालहरूको मूल्य भेडाहरूका रूपमा अभिव्यक्त हुन्थ्यो र भेडाहरूले माल विनिमयमा ‘सार्वभौमिक समतुल्य’को भूमिका निर्वाह गरे।

माल विनिमयको विकासको लामो प्रक्रियामा अलगअलग राष्ट्रहरूले विनिमयका फरकफरक माध्यमहरूको प्रयोग गरे जस्तै भेडा, कौडीहरू, कपडा वा धातुहरू। अन्ततः उनीहरूले सुन, चाँदीजस्ता बहुमूल्य धातुहरूलाई मुद्राका रूपमा प्रयोग गर्ने निर्णय गरे किनकि बहुमूल्य धातुहरू परिमाण थोरै तर मूल्यमा अत्यन्त धेरै हुने गर्छन्, तिनलाई ल्याउन, लैजान र कैयौँ भाग लगाउन सजिलो हुने गर्दछ। साथै तिनीहरू नाशवान् हुँदैनन्।

त्यसकारण विनिमयको माध्यमका निम्ति ती उपयुक्त हुन्। त्यसकारण सुन र चाँदीलाई मुद्राका रूपमा आमरूपमा स्वीकार गर्ने गरिन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने मुद्रा सुन र चाँदीको अन्तरनिहित गुण होइन। यो तिनीहरूलाई प्राप्त हुन्छ। सुन र चाँदी केही निश्चित ऐतिहासिक उत्पादन सम्बन्धहरूको अन्तर्गत मुद्रा बने। मुद्राको स्रोतबाट मुद्राको प्रकृति बुझ्न सकिन्छ। मुद्रा अन्य मालहरूबाट पृथक एउटा विशेष माल हो, जसले विनिमयको माध्यमको कार्य गर्दछ।