सबै धर्म, संस्कृति र सभ्यताप्रति सम्मान छ : मन्त्री बिना मगर

Bina magar-9
लाेकपाटी न्यूज

कञ्चनपुर, १० पुस । खानेपानी मन्त्री बिना मगरले गणतन्त्र नेपाल र धर्मनिरपेक्ष मुलूक बनाउन सारा नेपालीले त्याग र बलिदान गरेको स्मरण गर्दै त्यसलाई संस्थागत गर्नुपर्ने बताएकी छिन् ।

क्रिसमस दिनको अवसरमा कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्र निर्माण भएको बताइन् । धर्म र संस्कृतिको हिसाबले अरु देशभन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उनको भनाइ थियो ।

मन्त्री मगरले भनिन्, ‘हाम्रो नेपाली समाज अरु देशभन्दा पृथक र छुट्टै पहिचान बोकेको छ । हामीकहाँ सबै जातजाति, क्षेत्र, वर्ग र समुदायबीच घनिष्ठ सम्बन्ध रहेको छ । सबैबीच समानता छ । यति सानो मुलूकमा पनि हामी विविध जातजाति, भाषाभाषी, समुदाय र संस्कृतिका मानिसहरु छौं, यो हाम्रो सम्पत्ति हो, यही नै हाम्रो विशिष्टता हो ।’

हाम्रो संस्कृति र एकताबाट अरु मुलुकले धेरै कुरा सिक्नसक्ने उनको भनाइ छ । ‘हामीले संस्कृतिलाई समृद्धिसँग जोड्नुपर्छ, यसले मात्रै सुखी नेपाली समृद्ध नेपाल बन्छ’ मन्त्री मगरले भनिन्, ‘सरकारले बिदा घटाएर कामको रफ्तारलाई बढाउन खोजेको छ, हाम्रो सबै धर्म, संस्कृति र सभ्यताप्रति समान सम्मान छ ।’