३३ किलो सुन फिर्ता नहुने !

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । तर, सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए । सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए । तर, पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन् । अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ । तर, कूटनीतिक पहल भए अनुसन्धानमा सहयोग गर्ने सन्देश भारतले दूतावासमार्फत नेपाल सरकारलाई पठाएको छ । यसबाट सुन तस्करीको अनुसन्धान प्रभावित हुने देखिएको छ । यसबारे कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भारतीय अधिकारीसँग गत मंगलबार छलफल गरेका थिए ।

भारतमा बरामद सुन चूडामणि उप्रेती ‘गोरे’ को समूहले २०७४ माघ ९ गते काठमाडौँ भित्र्याएपछि हराएकै भएको गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समिति बताउँछ । जेलमा रहेका गोरेको पुरानो सेल्टर सिलगुढी क्षेत्र भएकाले त्यहीँबाट यो सुन कोलकाता पुर्‍याइएको दाबी समितिको छ ।

‘कोलकातामा बरामद भएको सुनमा पनि ‘दुबइ हलमार्क’ छ । खाडी मुलुक हुँदै त्रिभुवन विमानस्थलबाट पछिल्लो समय सुन नभित्रिएकाले हाम्रो निचोड त्यही सुन हो भन्ने छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘तर भारतीय निकायले बरामद गरेकाले अनुसन्धानमा समस्या छ । भारतीय पक्षले यो सुन र पक्राउ परेका नेपालीमाथि अनुसन्धान गर्न दिल्लीको आदेश चाहिने जानकारी दिइसकेको छ ।’