‘कुलमानकाे बिकल्प कुलमान मात्रै हाे’

Dr achutshali ghimire
  • 77
    Shares
लाेकपाटी न्यूज

– डा. अच्युत शाली घिमिरे

अहिले सामाजिक सञ्जाल कुलमानको विषयलाई लिएर तात्तिएको पाइन्छ। यो स्वाभाविक पनि हो। भदौ २९ गतेबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिँदै छ। हुन त प्रचण्ड प्रधानमन्त्री हुँदा र जनार्दन शर्मा उर्जामन्त्री हुँदा नियुक्ति पाएका घिसिङका लागि अहिलेको समय राजनीतिक समिकरण सुहाउँदो नै छ। तत्कालीन माओवादी पृष्ठभूमिका वर्षमान पुन उर्जामन्त्री हुनु र कम्युनिष्ट सरकारको भारी बहुमत रहनुले पनि कुलमानकै पल्ला भारी रहेको कुरा देख्न र बुझ्न सकिन्छ। तर, यथार्थ सधैं देखे र बुझे जस्तै मात्र हुन्छ भन्ने पनि छैन। त्यसैले पनि नेपथ्यमा मञ्चन हुने अनेक घटनाक्रमहरु हेर्दा कुलमानलाई अर्को कार्यकाल नियुक्ति पाउन फलामको चिउरा चपाउनु जस्तै सकसपूर्ण हुने देखिन्छ।

आज पनि केही घटनाहरु कुलमानको सन्दर्भमा म सम्झिने गर्छु। एक ताका बल्व खरिद प्रक्रियामा उनलाई भ्रष्टाचारको आरोप लागिसकेपछि उनी पत्रकार सम्मेलन गरेरै भक्कानिएर रोएका थिए। र यदि प्रमाणित भए मात्र पनि झुण्डिन समेत तयार रहेको भनेर बताएका थिए। ईमान्दार मान्छेलाई असह्य आरोप लगाउँदा यसरी नै मान्छे प्रस्तुत हुन्छन् सायद। खाएको विष लाग्छ नखाएको विष लाग्दैन भनेर सामाजिक सञ्जालमा उनीप्रति सहानुभुति दर्शाउनेहरुको पनि लामै पंक्ति थियो उतिबेला। त्यस्तै प्रसारण लाइन बनाउने सन्दर्भमा स्थानीयबाट भएका अवरोध र ठेकदारहरुले गरेका ढिला सुस्तीहरुमा समेत उनी खरो नै उत्रीएका थिए। अझ तिहारको समयमा लोड ज्यादा भएर बत्ती जाने समस्या निराकरण गर्न रातभर कार्यस्थलमा नै बसेर गरेका अनुकरणीय कामहरुबाटनै कुलमानलाई जनताले भगवान मान्न तयार भईसकेको अवस्था सिर्जित भएको हो।

तर हामीले मान्नै पर्ने एउटा कुरा के हो भने भ्रष्टाचारको जटा भिरेर जनताको नजरमा थोत्रो विकासको भस्मलेपन गर्न सफल नेताहरुका अगाडि कुलमानहरु निरिह हुनुपरेको विडम्बना अवस्था छ अहिले। वर्षौंदेखि असम्भव प्रायः भनेर नेपालीको भाग्यमा नै अन्धकार भर्न सफल नेताका आसेपासेहरुलाई कुलमानले धक्का जरुर दिएका हुन्। जादुनै सहि लोडसेडिङलाई आफूले कार्यभार सम्हालेको छ महिनाभित्रै अन्त्य गरेर अर्बौंको घाटालाई नाफामा लैजान सकेको कुरा त जगजायर नै छ। यो नव निर्देशकको आदर्शले धेरै नेपालीलाई नेपालमा नै बसेर काम गर्न र गरे सम्भव हुने कुरामा विश्वास दिलाउन पनि सफल भएको छ। उनको पक्षमा लागेका जनमत हेर्दा अन्धभक्तनै हुन् कि जस्तो पनि लाग्छ। तर अन्धभक्तनै सहि बेकारी आल्स्यपना र मगन्ते नेताहरुको भक्त हुन भन्दा त काम गर्ने जोस जाँगरकै भक्त हुन जाती।

लोडसेडिङ हट्दा अर्बौंको व्यापार तहसनहस भएको कुरा व्यापारीहरुले आफ्नो स्मरणमा ताजै राखिराखेका छन्। ब्याट्री,इन्भर्टर,चार्जिङ बत्तिहरुको व्यापारमा सदियौंदेखि जनता लुट्न पल्किएकाहरु कुलमानको कार्यकाल सिद्दिनै लाग्दा मौलाएका छन्। कुलमानको नियुक्ति अर्को कार्यकालका लागि नगर्न नगराउन बिफक्रेस नै बोकेर नेताका दैलो दैलो चाहरिरहेका पनि होलान्। आउने चुनावमा ठूलै रकमको जोहो गर्न र व्यापारीलाई आफ्नो हिस्सामा सामेल गराउन सायद नेताहरु पनि लालयितनै होलान्।

अझ प्राधिकरणको असिमित पुँजि र यसले गर्ने सार्वजनिक खरिद सम्बन्धी अनेक कामहरु देखेर निर्देशकको पदमा आँखा गाड्नेहरु पनि धेरै छन्। सार्वजनिक संस्थानहरु मध्य अग्र पंक्तिमै रहेर वर्चस्व कायम गर्न सकेको विद्युत प्राधिकरणमा कहाँ कहाँ गएर फेरि यसको सम्पत्ति दोहन गर्न सकिन्छ भनेर बाटो कुर्नेहरु पनि धेरै छन्। उसो त यस्तो राजनीतिक नियुक्ति गर्न हाम्रा मन्त्री र नेताहरुलाई लाज हुनुपर्ने हो। तर पछिल्ला दृष्टान्तहरु केलाउँदा त्यस्तो पटक्कै देखिँदैन। आफ्नो खल्तीबाट सिईओहरु नियुक्ति गर्दा धेरै चलखेलहरु भएका छन् र सरकारको अपरिपक्वता पनि उदाङ्गो भएको छ। प्राधिकरणका विभिन्न परियोजनाहरुलाई आफू अनुकूल पार्न समेत गरिमामय पद निर्देशकमा ’यस म्यान’ भर्ति गर्न नेताहरु नै प्रयासरत छन् भन्दा फरक पर्दैन।

सबै जस्तो संस्थानहरुमा कर्मचारीको राजनीति हावी छ। कसरी विद्युत प्राधिकरण अछुतो रहला र? तर कुलमान यी यस्ता अदुर्दर्शी एवं खिया लागेका परम्परालाई ध्यान नदिएर आफ्नो कदममा अडिग भएर अगाडि बढ्ने हाकिम भएर निस्किए। कर्मचारीको सरुवा बढुवामा कोसैको सुनेन्,मन्त्री नेता कसैलाई टेरेनन्,युनियनको चुनाव प्रचारप्रसारमा प्राधिकरणको गाडि दिएनन्। सबैलाई योग्यता र क्षमताका आधारमा व्यवहार गरे। जसका कारण समेत ’सरकारी काम कहिले जाला घाम’ भनेर बस्ने कर्मचारी प्रशासन उनको विरुद्धमा छ। प्राधिकरणभित्र झगडा निम्त्याएर,एक अर्काबिच फाटो निम्त्याएर सार्वजनिक पुँजिलाई लुछ्तै चुँड्दै आफ्नो भुँडी भर्न पल्किएकाहरु अहिले जुर्मुराएका छन्। कुलमनालाई मात्र प्राधिकरणबाट बाहिर निकाल्न पाए फेरि आफ्नो दुनो सोजाउँन सक्ने आशाका साथ कर्मचारी युनियनका नेताहरु घरघरमा कोठे बैठक पनि गर्दै होलान्।

यसरी कुलमान घिसिङको चर्चा गरिरहदाँ उज्यालो नेपालको अभियानमा स्वच्छ ढंगले लागेका सबै उनको टिमको प्रशंसा गर्न समेत भुल्नु हुँदैन। जतिबेला लोडसेडिङको तालिका सार्वजनिक गर्न तछाडमछाड गर्ने मिडियाहरु यो देशमा हावी थिए तिनै मिडियाले समेत पछि दिल खोलेर कुलमानको प्रशंसा चाहीँ गर्न सकेनन्। कुलेखानीको पानी सिध्याएको देखि लिएर कमिसनमा अभ्यस्त भएका आरोपहरु समेत लगाए। लोडसेडिङको प्रमुख कारक तत्त्वका रुपमा रहेको विद्युत चुहावट र चोरी रोक्न समेत उनलाई हम्मेहम्मे पर्यो। तर कुलमान कुतर्कहरुका अघि कत्ति पनि काँपेनन्। बरु डटेरै सामाना गरे र सफल समेत भए। जनमत बटुले। डेडिकेटेड र ट्रंकलाइनको बिलिङ गरिदिएपछि उद्योगी व्यवसायीहरु उनीविरुद्ध एकजुट भएरै लागे र लागिरहेका छन्। तर कुलमान राष्ट्रिय पुँजिको संरक्षण गर्नका लागि कुनै सम्झौता नगर्ने पक्षमा स्पष्ट थिए र छन्।

देश विकास गर्ने भूत सबै आममानिसमा सवार हुँदैन। अझ सार्वजनिक संस्थानको प्रमुखमा रहेका व्यक्तिमा यसको भूत सवार भयो भने नतिजा कस्तो देखिन्छ भन्ने बुझ्न कुलमानका कार्य दक्षताका नतिजाहरु हेरे पुग्छ। विदेशीएकाहरु देशमानै केही गर्छु भनेर बसेका मेरो पुस्ताका युवाहरुलाई ’देशमा के के नै गर्छु भनेर बसेको छस् पछि ठक्कर पाउँदा कुरो बुझ्लास् ’भनेर भन्ने गर्छन्। तिनीहरुलाई पनि कुलमानकै उदाहरण दिएर निःशब्द पार्ने गर्छु। र देशलाई सराप्न छोड भनेर बिन्ति बिसाउँछु। र खै कस्को पापले देश यस्तो भयो भन्दै पुर्पुरो ठोक्नेहरुका  लागि समेत वैज्ञानिक पद्धति र इच्छाशक्तिका कारण झिलिमिली नेपाल बनाउन सफल कुलमान आफैंमा वान म्यान आर्मी हुन् र सफल मार्गदर्शक पनि।

तर अहिलो सम्म जे भए त्यो नै पर्याप्त भने छैन। राष्ट्रिय प्रसारण लाइनमा सयौं मेगावाट विद्युत थपिदै गर्दा र माग बढाउने क्रियाकलापहरु अझैं हुन नसकेको देख्दा कतै जलस्रोतलाई नेपालको धनको रुपमा व्याख्या गर्न हतारो त गरिएन भन्ने जस्तो पनि देखिन्छ। छिमेकी देशहरुमा बिजुली बेच्ने सपनाहरु देखाइए पनि प्रसारण लाइन निर्माणमा ढिलासुस्ती र छिमेकी देशहरुले पनि त्यति इच्छा नदेखाइरहेको सन्दर्भमा देशभित्रै विद्युतको खपत बढाउनु पर्ने तड्कारो आवश्यकता पनि छ। यसका लागि विद्युतीय सवारी र विद्युतीय सामग्रीहरुमा भन्सार छुट दिन सके मात्र यसको आयात बढेर प्रयोग ज्यादा हुने कुरामा सरकारको समेत ध्यान जानु पर्ने जरुरी छ।

त्यस्तै शहरको सुन्दरतालाई समेत ध्यानमा दिएर विद्युत प्रसारणलाई सुरक्षित र व्यवस्थित गर्ने हेतुका साथ सुरु गरिएको प्रसारण लाइन भूमिगत गर्ने कार्य निचोडमा पुर्‍याउन पर्ने चुनौतिहरु पनि सामुन्नेनै छन्। त्यसैले पनि बाँकी अपठ्याराहरु सुल्झाउँन पनि कुलमानकै आवश्यकता छ। हुन त कुलमानको यो जनतासँगको नाता भावनात्मक भएता पनि विद्युत प्राधिकरण भित्रको सुधार विशुद्ध प्राविधिक सुधार हो। जुन सिस्टम बसालेर कुलमानले प्राधिकरण भित्र माइक्रोम्यानेजमेन्ट गर्न सके अरु कोही निर्देशक नियुक्त भएर आउँदा गर्ने नसक्ने भन्ने चाही होइन। तर जुन रफ्तारका साथ कुलमानको कार्यकालमा धेरै चमत्कारहरु हामीले देख्न पायौं त्यो अरु आउँदा सम्भव नहोला भन्न चाही सकिन्छ। र अधिकांश नेपालीको चाहाना पनि यही चमत्कारको खोजी हो। एकअर्काको खुट्टा तान्ने, कैंची काट्ने, स्वार्थका आधारमा ठुङ्ने प्रवृत्तिबाट नेपालीहरु आजित भइसके। धू्र्त्याइँ लुच्च्याइँ अब धेरै भयो। कुलमानलाई दोर्होर्‍याएर नियुक्ति दिँदैमा एउटा थिती बसाल्न सकिन्छ भने किन कञ्जुसाई गर्ने?

र कुलमान एकचोटी फेरि निर्देशक नियुक्त भए भने मात्र पनि हामीले पत्याउँछौं कि यो देशमा मानिसले गर्ने कामको पनि मूल्यांकन हुँदो रहेछ भनेर। नत्र त पैसाको धाक लाएर पावर बिक्री गर्दै हिँड्ने र फुर्ती देखाउँनेहरु कै लबिङमा सरकार नतमस्तक भयो भन्ने ठान्नेछौं। उसो त आम जनताको भावना विपरीत गुठी विधेयक ल्याउँदा माइतीघरमा उर्लिएको जनसागर सरकारले भुलिसकेको छैन होला। काला बजारी र बिचौलियाको कठपुतली बन्नबाट सरकार यो चोटी ब्याक हुनै पर्छ। नत्र आउने चुनावमा कम्युनिष्ट सरकारलाई उसले गरेका अव्यावहारिक नियुक्तिनै पासो बन्न सक्छ। कसैले रातारात टपक्क टिपेर नेशनल हिरो बनेका मान्छे होइनन् कुलमान घिसिङ। प्रक्रिया विधि पु¥याएरै आफूले पाएको पद अनुसार नैतिक पराक्रम देखाएर जनताको मनमनमा बास बस्न सफल भएका मान्छे हुन्। करोड करोडका घुस काण्डहरु राजनीतिक संरक्षणकै आधारमा अख्तियार र अदालतमा नै पेन्डिङ रहेको अवस्था छ नेपालमा।

तर यही असामान्य धरातलमा, साहस भए जुन सुकै कार्य पनि गर्न सकिन्छ भनेर देखाउन सक्ने मान्छे हुन् कुलमान घिसिङ। काम गर्न नसके पनि प्रधानमन्त्री, मन्त्री र सांसदहरु पटक पटक दोहोरिन मिल्ने तर उज्यालो युगको रथ हाकिँरहेका कुलमानको अर्को कार्यकाल थप्न किन नमिल्ने? हिजो चप्पल लगाएर काठमाडौं छिरेका नेताहरु दोहोरिँदै तेहरिँदै सार्वजनिक पदमा जाँदा आज घरका कति तलाहरु थपे? कति कालो धनहरु थुपारे? कसैले हेक्का राखेको छ त? तर कुलमानको लोकप्रियतामा तिनै बोक्रेहरु रिस डाहा गर्छन्। त्यसैले पनि समाजवादको दिगो रुपरेखालाई स्थायित्व गर्न समेत ’कुलमानहरु’ आज प्रमुख शासकीय पदमा पुग्नु पर्ने आवश्यकता छ। नसा-नसामा व्यक्तिगत लाभ र हानी मात्र सञ्चार गराउनेहरुका विरुद्ध सम्भावनाका कम्पहरु सिर्जना गर्दै लैजानुपर्नेछ। कालो बादल जति सुकै गडगडाओस् चाँदीको घेरा युक्त आशाले समुन्नत पाईला चाल्दै जानुपर्नेछ।