२० वर्षपछि कोल्टी धनगढी हवाइ सेवा सुरु

bajhura udan
  • 50
    Shares
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २७ भदौ। द्वन्द्वकाल यता करिब २० वर्षपछि बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई यातायातमा जोडिएको छ।शनिबारदेखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले उडान भर्न शुरु गरेसँगै लामो समयपछि बाजुरा प्रदेश राजधानी धनगढीसँग सिधा हवाई सेवामा जोडिएको हो।

समिट एयरले आज बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले जानकारी दिए। २० वर्षअघि बाजुराको कोल्टीदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीसँग बाजुरा सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि धनगढीसँगको हवाई सम्पर्क अबरुद्ध भएको थियो।

बाजुरा नेपालगन्जसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन। आजदेखि हवाई सेवामा बाजुरा धनगढीसँग जोडिएपछि स्थानीयले भने खुसी व्यक्त गरेका छन्। नागरिक सेवा सरकोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले विगतका वर्षहरुमा बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई सम्पर्कमा जोडिनु पर्नेमा विगतमा नागरिक स्तरमा समेत माग बढेको र अहिले सो सेवाको शुरुवात भएकोमा खुसी लागेको बताए। बाजुरा धनगढीसँग हवाई सेवामा जोडिएकाले यहाँका नागरिकलाई प्रदेश राजधानी जान आउन सहज हुने आशा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्