‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा विजयी

Himalayan Sherpa
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबारदेखि शुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले एक एक गोल थपे । उक्त चारै गोल खेलको दोस्रो हाफमा भएको थियो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरेको थियो ।

खेलको ४६ औँ मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५४ औँ मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो ।

त्यसैगरी खेलको ६१ औँ र ८० औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल थपे ।

यता पराजित ब्रिगेड व्वाइजका लागि वर्तमान राईले खेलको ८७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । खेलमा म्यान अफ द म्याच हिमालयन शेर्पाका कप्तान मानबाहदुर तामाङ घोािषत भए ।

जितसँगै १७ अङ्क जोडेको हिमालयन शेर्पा तालिकाको पांचौँ स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड व्वाइज छ अङ्कसहित बाह्रौं स्थानमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्