काेराेना महामारीलाई जित्न विज्ञान कुटनीति चाहिन्छ : मन्त्री पोखरेल

Girirajmani pokharel
  • 35
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३० भदौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय विज्ञान दिवसका पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आइएसपी) र म्यान एण्ड बायोस्फेर (एमएपी) समितिले नेपाल जर्मन एकेडेमिक एशोसिएशनको सहकार्यमा आज आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको विज्ञान कूटनीति  नेपाली सन्दर्भमा सहकार्यको माध्यमबाट विकासको अवसर’ विषय भर्चुअल प्रवचन कार्यक्रममा उनले साझा चुनौतीको सामना गर्न विश्व एक हुनुपर्नेमा पनि जोड दिए।

उनले भने ’विश्वको साझा चुनौतीको सामना गर्ने महान कार्यको सामना विज्ञान र प्रविधिले मात्रै सक्दछ। कोरोना महामारी वा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विकास निर्माणमा विज्ञान र प्रविधिको सदुपयोगका लागि हामी तत्पर हुनुपर्छ।’

उनले गत वर्ष राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति जारी गरी विज्ञान र शिक्षा क्षेत्रलाई नीतिगत तहमा उच्च महत्व दिइएको जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ साताव्यापीरुपमा आठौँ राष्ट्रिय विज्ञान दिवस मनाउँदैछ। पूर्वविज्ञानमन्त्री गणेश साहले युवा वैज्ञानिकको प्रतिभालाई हरेक राष्ट्रले उच्च महत्व दिई विकास र निर्माण तथा महामारीविरुद्ध परिचालन गर्न सक्नुपर्ने बताए।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान भूगोल औपचारिक कूटनीतिभन्दा पर र माथि हुने भएकाले यसले जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता विषयमा विश्वलाई एकताबद्ध भई लड्न प्रेरित गर्ने जनाए। उनले विद्यमान कोरोना भाइरसको महामारीको स्थितिमा विज्ञान कूटनीतिको झन् बढी महत्व रहेको हुन्छ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी विज्ञान र कूटनीतिका मानवीय विकास, सभ्यता र समृद्धिका साझा लक्ष्य रहेको बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञानसँग सम्बन्धित विज्ञान ज्ञान पार्क र विज्ञान सहरजस्ता अवधारणामा काम भइहेको अवगत जनाउँदै दोस्रो विश्वयुद्धपछि जापन र संयुक्त राज्य अमेरिकाबीचको विज्ञानसम्बन्धी सहकार्यलाई विज्ञान कूटनीतिको अशल उदाहरणका रुपमाम लिनुपर्ने बताउँदै प्रतिष्ठानले नेपालको विकासमा विज्ञानका नयाँ नयाँ आयामको उपयोगका लागि अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाएको जनाए। युवा वैज्ञानिक डा उत्तमबाबु श्रेष्ठ नीतिगत तहमा विज्ञानलाई उपेक्षा गर्न नहुने भन्दै युवा वैज्ञानिकको क्षमता अभिवृद्धिका लागि माथिल्लो तहबाट काम हुनुपर्ने बताए।

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले विकासका लागि विज्ञान महत्वपूर्ण विन्दू भएकाले यसलाई रचनात्मकरुपमा अन्तर्राष्ट्रिय साझा मुद्दाको सम्बोधनका लागि उपयोगन गर्नुपर्ने बताए। उनले पूर्वाधार, प्रविधि, कृषि र स्वास्थ्य क्षेत्रमा नेपाल र इजरायलसँग सहकार्य भइरहेको जानकारी दिए।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफरले त्यहाँको शिक्षा मन्त्रालयले शिक्षा र प्रविधिमा गर्दै आएको नवप्रवर्तन र नेपालसँगको सहकार्यबारे बताएका थिए। उनले विज्ञानले राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्यलाई सहयोग गर्नुपर्नेमा कुनै दुईमत नरहेको स्पष्ट गरे। युनेस्को मुख्यालयमा कार्यरत विशेषज्ञ भानुराज न्यौपाने सबैमा विज्ञान, प्रविधि र तथ्याङ्कको पहुँचका लागि खुल्ला विज्ञानको अवधारणालाई कार्यान्वयन गर्न जोड दिए। युनेस्को नेपाल आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले दिगो विकासको लक्ष्यपूर्तिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा हुने नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकता दिइँदै आएको जानकारी दिए। रासस