नेपालमा प्याजको कालो बजारी, प्रति किलो कति ?

onions
  • 14
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी सुरु भएको छ। मंगलबारसम्म करिब ४० देखि ५० रुपैयाँ किलोमा बिक्री भएको प्याज बुधबार बिहान झण्डै दोब्बर वृद्धि भएर १३० रुपैयाँ प्रतिकेजी पुगेको छ।

उपभोक्ताले नियमित ग्राहक हैनौ भन्दै आफूलाई प्याज नदिएको भनि लिखित उजुरी महानगरपालिकामा दिएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार गरेको अनुगमनबाट ब्यापारीलाई कालोबजारी गरेको ठहर गरी पक्राउ समेत गरेको छ। काठमाडौं महानगरपालिका, कृषि शाखा प्रमुख हरिबहादुर भण्डारीले खरिद बिल नभएका, बिक्री बिल नभएका र मूल्यसूचिसमेत नराखेका व्यापारीहरुलाई आवश्यक कारवाही गरेको जानकारी दिए।

काठमाडौं महानगरपालिका भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले बल्खु तरकारी बजारमा अनुगमन गर्दा करिव २ सय बोरा प्याज शंकास्पद तरिकाले राखेको भेटेपछि कारवाही गरिएको जनाइएको छ। बजार अनुगमन टोलीका हरिबहादुर भण्डारी, माधव तिमिल्सेना, कालिमाटि प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनक श्रेष्ठ लगाएतको टोलीले बजारको अनुगमन गरेको थियो।

गतवर्ष पनि भारतले प्याजको निर्यात रोक्दा नेपालमा प्याजको मूल्य करिब २ सय प्रतिकेजी पुगेको थियो। यो वर्ष प्याजमा हुने कालोबजारीलाई रोक्ने जिम्मा महानगरीय प्रहरी परिसर कालिमाटिलाई आधिकारीक जिम्मा दिइसकेको उनले जानकारी दिए।