ह्वात्तै बढ्यो नेप्से, कतिमा पुग्यो ?

लाेकपाटी न्यूज

काठमाडौं, पुस ११ । लगातार लगानीकर्ताहरुलाई निराश बनाउँदै आएकोे नेपाल स्टक एक्सचेन्ज बुधबार भने ३० अंकले बढेको छ ।

बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ३०.२६ अंकले वृद्धि भई १,२१६.२७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

राष्ट्र बैंकले सेयर धितोकर्जाको मार्जिन सीमा बढाएसँगै नेप्से बुधबार ३० अंकले बढेको हो । केन्द्रीय बैंकले मार्जिन सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्‍याएको छ । यसरी नेप्स बढ्नु लगानीकर्तालाई अंग्रेजी नयाँ वर्षमा उपहार साबित भएको छ ।

आज कुल १७३ कम्पनीको १९,००,१०३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६९ करोड २६ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो मंगलबार भन्दा बुधबार २७ करोड बढीको कारोबार भएको छ ।

यस्तै नेपाल बैंकले सबैभन्दा बढि रू. ४ करोड ३६ लाख भन्दा बढीको सेयर कारोबार गरेको छ । सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरुको सेयर मूल्य ९.९९ अंकले बढेको छ भने सबैभन्दा बढी गण्डकी विकास बैंकका लगानीकर्ताहरुले गुमाएका छन् । बैकको सेयर मूल्य ५.७९७१ प्रतिशतले घटेको छ ।