‘कोरोना संक्रमणबाट जोगिन प्रत्येक व्यक्ते सावधानी अपनाउन जरुरी छ’

लोकपाटी न्यूज

भदौ। कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द अवस्थामा रहेको व्यापार, व्यवसाय, यातायात, उद्योग तथा कलकारखाना खुल्न थालेका छन्। यस्तो अवस्थामा कोरोना संक्रमणबाट जोगिएर दैनिक कामलाई सहज बनाउन प्रत्येक व्यक्ति स्वयमले सावधानी अपनाउनु पर्नेमा जोड दिन थालेको छ।

तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रेडियो लुम्बिनीका अध्यक्ष दुजेन्द्र बस्नेतले कोरोना संक्रमणका कारण धराशायी अवस्थामा पुगेको मुलुकको व्यापार व्यवसाय अब बिस्तारै सुधार हुँदै जानेमा विश्वास व्यक्त गरे। उनले कोरोना संक्रमणको जोखिम अझै रहेकोले नागरिक आफैले सावधानी अपनाएर दैनिक कामलाई सहज बनाउनुपर्ने बताए।

सबै क्षेत्र खुल्ला भएको अवस्थामा नागरिकको सानो लापरबाहीले पनि कोरोना संक्रमणले महामारीको रूप लिन सक्नेतर्फ सचेत बन्न पनि उनले आग्रह गरे। संस्थाका अध्यक्ष झविन्द्र प्रसाद कंडेलले विगतका स्थापना दिवसहरू भव्य रूपमा मनाउने गरिएको भए पनि अहिलेको जटिल अवस्थामा रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको बताए। उनले अप्ठ्यारो अवस्था सधैँ नरहने भएकोले भोलिका दिन सहज बनेर आउने विश्वास व्यक्त गरे।

सातौं स्थापना दिवसको अवसरमा तिलोत्तमा चेम्बर अफ कमर्सले मणिग्रामस्थित आफ्नै सचिवालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेको संस्थाले जनाएको छ। विगतका वर्षहरूमा रक्तदान, सरसफाइ, विभिन्न आश्रमहरूमा सहयोग लगायतका कार्यक्रम सहित स्थापना दिवस मनाउने गरेकोमा यस वर्ष भने कोरोना संक्रमणको महामारीका बिचमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्