सरकार आफैं केन्द्रिकृत शासनको पक्षमा छः सिंह

Prakashman singh
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताएका छन्। वीर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘त्याग संघर्ष, समर्पणः आजको काँग्रेस र १४औँ महाधिवेशन’ विषयक भर्चुअल अन्तर्क्रिया यामा उनले गणेशमान सिंहको सिद्धान्त र आदर्शको राजनीतिले देशमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरे।

नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्षशील नेता गणेशमान सिंहको जीवनबाट नेपालका राजनीतिक नेताहरुले पाठ सिक्नुपर्ने उल्लेख गरे। जनतालाई अधिकार दिलाउन १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन गणेशमान सिंहले बिताएको उनको भनाइ थियो।

सिंहले सत्तारूढ दल नेकपा संविधानको मर्मविपरित केन्द्रिकृत प्रणालीमाअघि बढिरहेको आरोप पति लगाए। उनले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्नअगाडि बढिरहेको बताए। संविधान कार्यान्वयनको चरणमा भए पनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरिअघि बढिरहेको उनको भनाई छ। संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकार भए पनि उनीहरूलाई काम गर्न नेकपाले बाधा पुर्‍याइरहेको बताए।

पूर्वउपप्रधानमन्त्री सिंहले कोभिड-१९ को महामारीमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए। जनता कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरूलाई सुरक्षित महसुस गराउन नसकेको उनको भनाई छ। महामारीका वेला गर्नुपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेकोमा जनताको चित्तदुखाइ रहेको बताए। ‘कोरोनाका कारण धेरै मजदुरहरुको घरबास उठ्दासमेत सरकारले उनीहरुको उचित राहत र व्यवस्थापन गर्न सकेन,’ उनले भने।

काँग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीलाई हुकुमी शैली र स्वेच्छाचारीताले चलाएर नचल्ने भन्दै विधिअनुसार पार्टी चलाउनुपर्ने उल्लेख गरे। उनले सरकारले दिएको मतको सम्मान गर्न नसकेको बताए। काँग्रेस कमजोर प्रतिपक्ष भएको उनको भनाइ थियो। पार्टीको १४औँ महाधिवेशनमा नेता हैन नीति, व्यक्ति हैन विधि हेनुपर्ने नेता केसीले बताए। पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले इमान्दार, निष्ठावान, त्यागी र संघर्षशील नेता स्व सिंह भएको बताए। बिपी कोइरालालाई सफल बनाउन गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्