जनकपुर आइपुग्यो नेपाली रेल

Rail_Train
  • 36
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग किनेको रेल जनकपुर आइपुगेको छ। शुक्रबार दिउँसो उक्त रेल जनकपुर आइपुगेको हो। कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो। नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा थन्किएका थिए। अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो। नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो। गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो। नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो।

लामो समयको अन्तरालपछि रेल आउन लागेको खबर प्रसार भएपछि जनकपुर रेल्वे स्टेसनमा मानिसहरुको भिड लागेको छ। कोरोना कहरको बेवास्ता गर्दै उर्लेको भींड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ। नेपालमा पहिलो पटक बेलायत सरकारले रक्सौल-अमलेखगन्ज रेल सेवा १९८४ मा संचालनमा ल्याएको थियो। त्यो रेल सेवा शूरु भएको ३८ वर्षपछि २०२२ मा बन्द भएको थियो। विक्रम संवद १९९४ मा जयनगर-जनकपुर-बिजलपुरा रेल सेवा सुरु भएको बताइएको छ। करिब ५२ किलोमिटरको यो रेल सेवा सुरुमा कोइलाबाट चल्थ्यो।

पछि डिजेल इन्जिन सुरु भयो। यो बेला रेल सेवा मानिस ओहोरदोहोर गर्न भन्दा पनि मालसामान ओरापसार गर्न सुरुवात भएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि पछि ०७१ माघदेखि यो रेल सेवा पनि बन्द भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्