मन्त्रीमण्डल एक साताभित्र पुर्नगठन हुन्छः परराष्ट्रमन्त्री

Pradeep_gyawali
  • 13
    Shares
लोकपाटी न्यूज

बुटवल। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अबको एक साताभित्र मन्त्रीमण्डल पुर्नगठन हुने बताएका छन्। प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यमूल्यांकनका आधारमा मन्त्रीमण्डल पुर्नगठन गर्ने बताए।

उनले पाटीभित्रको सन्तुलनसमेत मिलाउँदै र सरकारको कामलाई प्रभावकारी गराउने गरी मन्त्रीमण्डल पुर्नगठन हुने बताए। मन्त्री ज्ञवालीले प्रदेशको मन्त्रीमण्डल समेत पुर्नगठन हुने बताए। उनले मुख्यमन्त्री फेरबदल भने नहुने बताए। पार्टीभित्रको विवादले झण्डै फुटको अवस्थामा पुगेको पार्टी अहिले पुरानै एकताको अवस्थामा पुगेको उनले दाबी गरे। ‘अझै पनि अन्तरविरोधहरु छन्, तर तिनलाई महाधिवेशनबाट समाधान गर्नेगरी पार्टी अहिले एक भएको छ,’ उनले भने।

यस्तै, मन्त्री ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने पनि बताएका छन्। उनले एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताए। पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुने बताए।

उनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पुर्ननियुक्ती कानूनअनुसार गर्न नमिल्ने बताए। घिसिङको कामप्रति सरकार सन्तुष्ट रहेको तर पुर्ननियुक्त गर्न कानूनले नदिने बताए। कुलमानको नियुक्तिमा ऊर्जामन्त्री बर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेकोसमेत उनले स्पष्ट पारे।

मन्त्री ज्ञवालीले भारतसंग कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने बताए। भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै उनले राष्ट्रियताको पक्षमा नेपाल उभिँदा सम्बन्धमा केही समस्या आउने गरेको दावी गरे। कोरोना महामारीका कारण देशको आर्थिक वृद्धि दर निकै खुम्चिने देखिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य सतर्कता अपनाउँदै आर्थिक गतिविधि खुला गर्नुको विकल्प नभएको पनि बताए।