संविधान दिवसमा भाग नलिने जसपाको घोषणा, विरोध कार्यक्रम गर्न आह्वान

Jasapa
  • 219
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले  संविधान दिवसमा भाग नलिने भएको छ। संविधानका विभेदकारी प्रावधानहरू संशोधन नभएको भन्दै जसपाले संविधान दिवस नमनाउने भएको जनाएको हो।

संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरू संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा उक्त दिन शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने समेत उसले घोषणा गरेको छ। जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेस जन विद्रोहलगायतका बेला सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान र पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत अनादार गरी संविधान जारी भएको जसपाले दाबी गरेको छ।

उसले विभेदकारी प्रावधान संशोधन नगरेसम्म संविधानको स्वामित्व विस्तार नहुनेसमेत जनाएको छ। ‘विभेदकारी, अधुरो, अपुरो एवं त्रुटिपूर्ण संविधानले मधेसी, आदिवासी जनजाति, दलित, सिल्पी, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन,’ जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

जसपाको प्रेस विज्ञप्ति

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोहलगायतका आन्दोलनहरूको वेलामा सरकारसँग भएका सम्झौताहरू, अन्तरिम संविधानमा भएका प्रावधानहरू, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयहरू तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपूरो एवम् त्रुटिपूर्ण संविधानले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जात-जाति एवं समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा उक्त दिन शान्तिपूर्ण विरोध कार्यक्रमहरू आयोजना गर्न आमजनसमुदाय एवं सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्