असोज ५ देखि आन्तरिक उडानः  ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

nepal airlines
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान सुरु हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्ने निर्णय गरेको थियो। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्ल थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो।

‘मन्त्रालयले लेखेको पत्रमा ५० प्रतिशत उडान गर्नु भन्ने छैन। हामी फुल सिट क्षमतामै उडान गर्न अनुमति दिन्छौँ’, प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘असोज ५ देखि नियमित रुपमा आन्तरिक उडान हुन्छ।’ प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ।

मन्त्रालयको यो निर्णयसँगै केही निजी कम्पनीले टिकट बुकिङ खुला गरेका छन्। पहिलाको तुलनामा भाडा नबढ्ने बताइएको छ। यसअघि आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालक संघ नेपालले आफू सम्बद्ध कम्पनीहरुले आधा क्षमतामा जहाज उडाउन नसक्ने भन्दै बुकिङ रोकेको थियो। यसअघि एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए।

विमानस्थलमा नयाँ नियम

आन्तरिक हवाई यात्रा का लागि यात्राहरुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ। यात्रुले पालना गर्नुपर्ने निमयका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्ने छ।

विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरुले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्ने छ। सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ। अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्