कुलमानले भने, ‘मेरो समर्थनमा सडकमा भिडभाड नगरिदिनोस्’

Kulman Ghising
  • 182
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

चार वर्षे कार्यकाल पूरा गरेर अवकाश कुलमानलाई पुनर्नियुक्तिको माग गर्दै काठमाडौंसहित देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन्। विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन आग्रह गरेका हुन्।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,’ कुलमानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले प्राधिकरणको कार्यकारी निर्देशकका लागि सरकारले उचित समयमा आवश्यक निर्णय लिने आशा पनि व्यक्त गरेका छन्। ‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात् गर्नैपर्छ। प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’ कुलमानले भनेका छन्।

उनले सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताएका छन्। चार वर्षे कार्यकाल पूरा गरेर कुलमानले भदौ २९ गते बिदा भएका थिए। उनको पुनर्नियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। विरोध प्रदर्शन बढेपछि कुलमानले प्रदर्शन स्थगित गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्