महिला र पुरुष फुटबलर टीमलाई समान तलब दिने तयारी

Football
  • 3
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३ असोज। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने गरी छलफल भइरहेको छ।एन्फा प्रवक्ता किरण राईका अनुसार खेलाडीको तलब वृद्धिसँगै महिला टोली र पुरुष टीमका खेलाडीको तलब समान गर्ने समेत छलफल भइरहेको बताए।

‘खेलाडीको तलब वृद्धि हुन्छ। वृद्धि मात्रै होइन समान पनि गर्ने गरी गृहकार्य भइरहेको छ। समान काम हो किन घट बढी गर्ने भन्ने गरी छलफल चलिरहेको छ,’ प्रवक्ता राईले भने। उनले नेपाली समाज लोकतान्त्रिक पद्धतिमा गएको भन्ने नजिरका लागि पनि खेलाडीको तलब समान गर्ने योजनामा बनिरहेको बताएका छन्।

अहिले एन्फाले खेलाडी र कर्मचारीको तलब बढाउने छलफल गरिरहेको छ। ‘खेलाडीको तलब नबढी कर्मचारीको बढ्दैन। अहिले कर्मचारीको तलब बढी सकेको होइन, ग्रेड निर्धारण गरेर बेसिक तलब निर्धारण गर्ने काम भइरहेको छ। त्यसमा सुविधाहरु थपिएर तलब पाउनेछन्,’ एन्फा स्रोतले भन्यो।

अब बढ्ने तलब खेलाडी र कर्मचारीहरुले साउनदेखिकै पाउनेछन्। खेलाडीको तलब व्यवस्थापनका लागि बजेट समायोजनको काम भइरहेको ती पदाधिकारीले भने।

अहिले पुरुष राष्ट्रिय टीमका खेलाडीले मासिक १५ हजार पाउँछन् भने महिला टोलीका खेलाडीले ७ हजार पाउँदै आएका छन्। अब खेलाडीको तलब बढ्दा २० हजार वा २५ हजार गर्ने गरी छलफल बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्