सौन्दर्यका लागि योग कति उपयोगी ?

Yog
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग। न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै। यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ।

शरीर र मनलाई शुद्ध गराउने एउटा विधि पनि हो योग। मूलतः पूर्वीय दर्शनले प्रतिपादन गरेको योगले मनमा रहेको विकार हटाउने र शरीर स्वस्थ राख्ने काम गर्छ भन्ने मान्यतार राखिन्छ। शरीरको शुद्धी र चित्तवृत्ति निरोधलाई ध्यान दिने योग शिक्षाले सुन्दरताको क्षेत्रमा समेत काम गर्ने गर्छ।

छालालाई सुन्दर बनाउन योगले मद्धत गर्छ। यसका लागि हामीले नियमित अभ्यास भने गर्नुपर्छ। योगले शरीरको सुन्दरताको निम्नलिखित पक्षमा योगदान दिने गर्छ।

चम्किलो छालाका लागिः योगका विभिन्न आसनहरू हुन्छन्। जसले दैनिक केवल ५ देखि १० मिनेटमात्रै गर्दा पनि शरीरमा रक्तसञ्चारका लागि महत्वपूर्ण काम गर्छ। योगको अभावमा हाम्रो अनुहार र शरीरको छालामा प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्छ। योगका कारण नै छालाको चकममा वृद्धि आउने सौन्दर्यविद्हरू बताउँछन्।

छालाको क्षतिग्रस्त कोषिकालाई मर्मत गर्नः छालाको क्षतिग्रस्त कोषिकालाई मर्मत गर्न पनि योग प्रभावकारी बन्न सक्छ। योगको अष्टाङ्गमध्येको एक प्राणायामले केवल तनावलाई मात्रै कम गर्दैन, यसले शरीरमा अक्सिजनको सञ्चार बढाउने कार्यमा समेत सुधार गर्छ। प्राणायामको समयमा लिइएको गहिरो सासले रगतमा अक्सिजनको प्रवाहलाई बढाउँछ, जसले छालाको बिग्रिएको कोषिकालाई पुनःप्राप्त गर्न मद्दत गर्छ।

शरीरको बोसो घटाउन सहयोगीः नियमित योग गर्नाले शरीरमा रहेको बोसो घटाउन पनि मद्दत मिल्छ। अन्य व्यायाम जस्तै योगले पनि शरीरमा रहेको अधिक बोसोलाई कम गर्न सक्छ। योग गर्दा मुटुको धड्कन बढ्छ र त्यसले बोसो कम गर्न मद्दत पुग्ने जानकारहरू बताउँछन्।

शरीरलाई ऊर्जावान बनाउँछः कुनै पनि आसनमा योग गर्दा रगत परिसञ्चरण र अक्सिजन प्रवाह बढ्दा त्यसले मनमा समेत सकारात्मक सञ्चार प्रवाह गराउँछ। जसले हामीलाई उत्साहित बनाउन मद्दत गर्छ। योग गर्दा पसिनाको माध्यमबाट शरीरको अशुद्धता पनि बाहिर जान्छ। जसले सिधा छालाको सौन्दर्यमा प्रभाव पार्छ।

प्रतिरक्षा प्रणाली बलियो बनाउन योगः नियमित योग गर्नाले रोग प्रतिरक्षा प्रणाली अझ बलियो र राम्रो हुन्छ। जसका कारण अन्य संक्रमण सजिलै छालामा सर्न सक्दैन। जसले छालाका विभिन्न रोगबाट बच्नुका साथै छालाको चमक र सौन्दर्य अक्षुण्ण रहन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्