नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु, यस्ता छन् एजेण्डा

Nekapa_Perishdada
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन्।

यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। नेकपा अध्यक्ष ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्दै आएको थियो।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ। गत भदौ २६ मा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन्। साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा पनि छलफल हुने बुझिएको छ। विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल हुन सक्ने नेकपाका एक नेताको भनाइ छ। सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने बुझिएको छ।

सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरागर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्