२८ महिनापछि पेरिसडाँडामा फर्किएको चहलपहल

Nekapa
  • 407
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडामा चहलपहल बढेको छ। पार्टी एकताको झन्डै २८ महिनापछि पहिलो पटक पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बसेसँगै त्यहाँको चहलपहल बढेको हो।

एकतापछि पेरिसडाँडामा जनवर्गीय संगठनको कार्यालय रहेकाले पार्टीका नेताहरू गइरहे पनि शीर्ष नेताहरूको बैठक भने बसेको थिएन। यो बीचमा नेकपाका अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका छन्। कतिपय बैठक भने धुम्बाराहीस्थित कार्यालयमा हुने गरेका थिए।

यसअघि पार्टी उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटी बैठकमा पेश गरेको ६ बुँदे प्रस्तावमा समेत बैठक पार्टी कार्यालयमा बस्नुपर्ने अडान राखेका थिए। धुम्बाराहीमा भन्दा पेरिसडाँडामा फराकिलो भएकोले सचिवालय बैठक बोलाइएको नेकपा नेताहरूको भनाइ छ। भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कामको सम्पूर्ण भूमिका दिएसँगै प्रचण्डले सचिवालय बैठक पेरिसडाँडामा बोलाएका हुन्।

NCP_Nekapa_perisdada

भदौ ३१ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटले असोज २ गते पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो। प्रधानमन्त्रीसँगै मन्त्रीहरूले संविधान दिवसको तयारी गर्नपर्ने भएकाले ४ गतेलाई बैठक सारिएको थियो।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागि छन्। प्रधानमन्त्री ओलीको भने पेरिसडाँडामा यो दोस्रो आगमन हो। यसअघि उनी एकता भएको दोस्रो दिन पार्टी कार्यालय उद्घाटन गर्न २०७५ जेठ ४ गते आएका थिए। पार्टी एकता हुनुभन्दा पहिला पेरिसडाँडामा पूर्वमाओवादीका नेताहरूको बैठक बसिरहने भएकाले त्यहाँ निकै चहलपहल हुने गरेको थियो।

Nekapa

सचिवालय बैठकले सरकारमा सहभागी हुने मन्त्रीको सूची तयार पार्ने बताइएको छ। वामदेव गौतम राष्ट्रिय सभा सदस्य भइसकेका छन् भने अर्थमन्त्रीबाट युवराज खतिवडाले राजीनामा दिइसकेका छन्। अहिले अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय मन्त्री बिहीन छन्। केही समयका लागि सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्हालेका छन् भने खतिडालाई सल्लाहकार नियुक्त गरेर ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्