फेरि ऐतिहासिक जनआन्दोलनको आवश्यकता छः सिपी गजुरेल

cp-Gajurel
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ऐतिहासिक जनआन्दोलनका निमित्त हर तरहले तयार रहन आह्वान गरेको छ। वर्तमान सरकारको गैरजिम्मेवारीपनविरुद्ध आन्दोलनको विकल्प नरहेको उसको भनाइ छ। आइतबार एक विज्ञप्ति जारी गरेर मोर्चाका अध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारले जनताको आवाजलाई लगातार उपेक्षा गरेको आरोप लगाए।

‘संसद्मा भएको कथित दुई तिहाइको दम्भ प्रदर्शन गर्नु बाहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनु सिवाय अन्य कुनै विकल्प छैन। त्यसैले, इतिहासका निर्माता नेपाली जनतासँग अर्को ऐतिहासिक जनआन्दोलनका निमित्त हर तरहले तयार रहन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौँ।’

गजुरेलले सामान्य मागहरूलाई लिएर सडकमा उभिएका जनतामाथि लाठीचार्ज गर्नु विडम्बनाको विषय भएको बताएका छन्। उनले यस्तो सरकारी रवैयाका कारण यो संविधान जनताको होइन रहेछ भन्ने अनुभूति दिलाएको उल्लेख गरे। ‘विश्वका झन्डै २०० भन्दा बढी देशमा महामारीका रूपमा फैलिएको महाव्याधि कोरोनाको उपचार अब आइन्दा सरकारले नगर्ने, बिरामी आफैँले गर्नु पर्ने भन्ने निर्लज्ज र चरम गैरजिम्मेवार फर्मान जारी गर्दैछ, यो सरकार।’

विज्ञप्तिमा भनिएको छ, ‘संसद्मा पारित हुनबाट जोगिएको एमसीसी सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसद्को आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिँदै छ। जनसंघर्षको दबाबबाट नेपालको नक्शा सार्वजनिक गरिएको भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक माथि भारत सरकारले सिकन्जा झन् कस्दै लगेको छ, तर सरकार तमासे बनेर हेरिरहेको छ। कालापानीमा भारतीय सेना परेड खेलिनै रहेका छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्