धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने

dharahara01
लाेकपाटी न्यूज

काठमाडौं, १२ पुस । भूकम्पको गएको ४३ महिनापछि धरहरा पुनर्निर्माण लागि बिहीबार शिलान्यास गरिँदैछ ।

२०७२ वैशाख १२ गतेको विनाशकारीले भत्काएको धरहरा निमार्णको काम आज औपचारिक रुपमा सुरु हुन लागेको हो । उक्त नयाँ धरहराको शिलन्यास भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा हुन लागेको निमार्ण कार्यको जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । यसै क्रमममा धरहरा परिसरका सम्पूर्ण संरचनाहरु भत्काइएका छन् ।

भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा विसं. १९९० मा गएको भूकम्पले क्षति पुर्‍याएपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पुरानै शैलीमा ९ तले धरहराको निमार्ण गरे ।

नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिने बताइएको छ । बाहिरबाट हेर्दा भने ११ तल्ला जस्तै देखिने यो धरहरा भने २२ तले हुनेछ । जसको उचाइ करिब ७२ मिटर र गुम्बज र गजुरसहित नयाँ धरहराको उचाइ ७७ मिटरको हुनेछ । जसमा पहिले जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट समेत रहने छन् ।

२०७२ फागुन २ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरका थिए । उक्त अभियानको कोषमा हालसम्म २४ करोड रुपैयाँ जम्मा छ । दुई वर्षदेखि निष्क्रिय कोषलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

करिब ३ अर्ब ४२ करोडको लागतमा बन्ने उक्त धरहरा निमार्णकार्य सम्पन्न गर्न २ वर्ष लाग्ने बताइएको छ ।