सेवा निवृत्त सँगै ढकाल प्रबल जनसेवाश्री पदवीबाट विभूषित 

  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट हालै सेवा निवृत्त भएका लीला प्रसाद ढकाल प्रबल जनसेवा श्री (चतुर्थ) पदवीबाट विभूषित भएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनसेवा श्री (चतुर्थ) पदवीबाट ढकाल विभूषित भएका हुन्।

प्रबल जनसेवा श्री (चतुर्थ) बाट २४२ जनालाई विभूषित गरिएको छ। उनी विक्रम सम्बत २०५९ मै प्रवल गोरखा दक्षिणबाहु (चौथो) बाट विभूषित भएका थिए। ढकालले आफ्नो सेवा अवधिमा विभिन्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरूमा रही नागरिकलाई सुरक्षित खानेपानी सेवा वितरण गर्न ठुलो योगदान पुर्‍याएका छन्। उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयमा रहेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न वितरण सञ्जाल निर्माणको काममा समेत योगदान दिएका छन्।

पछिल्लो समय उनले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को कार्यकारी निर्देशक भएर सेवा गरेका थिए। त्यहाँबाट करिब वर्ष दिन अघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा सरुवा भएका ढकाल उमेर हदका कारण हालै सेवा निवृत्त भएका छन्। यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगामा कार्यरत इन्जिनियर (अधिकृत ८ औँ) विजयकुमार ठाकुर पनि प्रवल जनसेवा श्री चतुर्थबाटै सम्मानित भएका छन्।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउने महानुभावहरूलाई नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको दिन राष्ट्रपतिद्वारा सम्मान गरिँदै आएको छ।

यस पटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन। सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ। संविधान दिवसको अवसरमा ४५ जनलाई मानपदवी, ११४ जनलाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्