स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको निर्देशन

  • 42
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण/अनुगमन गरेका छन्। विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान आजबाट पुन संचालनमा आएपछि मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिति अवलोकन गर्न विमानस्थल पुगेका हुन्।

सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरे। साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिए।

आजै मन्त्री भट्टराई पर्यटन मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यालय पुगेर भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका छन्। उनले गौतम बुद्ध अन्तराष्ट्रि विमानस्थल भैरहवामा दोस्रो टर्मीनल भवनको निर्माणको तयारी शुरु भएकाले डिजाइनमा सुझाव दिन आग्रह गरेका छन्।

यस विमानस्थलको काम करिब ९२ प्रतिशत सकिएको छ। आगामी डिसेम्बरसम्म सबै काम सम्पन्न गरी मार्चबाट संचालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ। यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ।