राप्रपामा चुनाव चिह्न र झण्डाको विवाद टुंगियो

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिह्न र झण्डाको विषयमा सहमति जुटेको छ। मङ्गलवार धुम्बराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले चुनाव चिन्ह र झण्डाबारे निर्णय गरेको हो।

कार्यसम्पादन समितिको बैठकमा निर्वाचन चिन्ह हलो र पार्टीको चिन्ह गाई राख्ने सहमति भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोगमा जाने भएको छ।

‘अब पार्टीको चिन्ह गाई हुनेछ भने चुनाव चिन्ह हलो हुने गरी सहमति भएको छ, यसैको आधारमा आजै पार्टी एकीकरणको बारेमा निर्वाचन आयोगमा जानकारी गराउँछौँ,’ उनले भने। श्रेष्ठका अनुसार पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५-२८ मा सम्पन्न गर्ने निर्णय पनि पहिलो बैठकले गरेको छ।

गत फागुन २४ गते राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर भएको थियो। सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो। तर चुनाव चिह्न के हुने भन्ने विषयमा पूर्व दुई पार्टीबीच सहमति नजुट्दा एकताले पूर्णता पाउन सकेको थिएन।

एकताअघि थापा नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई थियो। त्यस्तै राणा-लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिह्न हलो थियो। पछिल्लो सहमतिसँगै निर्वाचन आयोगमार्फत पार्टी एकतालाई पूर्णता दिने बाटो खुलेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्