चुरो नभएको सामाजिक आन्दोलनले परिवर्तन ल्याउँछ ?

Umesh_Bishwokarma
  • 109
    Shares
उमेश विश्वकर्मा

कुनै समय भारतको तत्कालीन केरेला राज्यमा दलित समुदायमाथिको विभेद उत्कर्षमा पुग्यो। जातको विषयमा यति रंग भरियो कि, कथित उच्च जातका नेतृत्वले तल्लो जातका महिलामाथि खुलेआम शोषणको नीति बनाए। तल्लो जातका महिलाहरूले स्तन ढाक्न नपाउने आदेश जारी भयो । ब्राह्मण महिलाले मात्र शरीरको माथिल्लो भाग ढाक्ने सुविधा थियो। अन्यले ढाकेमा स्तनको स्वरूप र बनावट अनुसार राज्यले तय गरेको अत्यधिक कर तिर्नुपर्थ्यो। केरेलाका दलित महिलाहरूलाई आफ्नै स्तन अभिषाप भयो। १८ औँ शताब्दीको अन्त्य र १९ औँ शताब्दीको सुरुवाती समयको यो घटनाले त्यहाँको दलित समुदाय त्रसित भयो। किनभने, अधिकांशसँग राज्यले तोकेको मुलाकरम (स्नत कर) तिर्नसक्ने क्षमता थिएन।

सन् १८०३ मा नांगेली नामक एक दलित जातीकी महिलाले समाजको निर्णयविरुद्ध विद्रोह गर्ने निर्णय गरिन्। अत्यन्तै विपन्न परिवारकी नांगेलीले समाजको सभ्य, अग्रज र उच्च भनिएका व्यक्तिबाट पटक पटक पीडा भोग्नु परेपछि शरीरको माथिल्लो भाग छोपेर हिँड्ने निर्णय गरिन्। त्यसको अर्थ, राज्यलाई कर तिर्ने उद्देश्य उनको थिएन। विद्रोह गर्ने निर्णय थियो। निर्णयलाई उनका श्रीमान् चिरुकण्डनले साथ दिए। तर, विद्रोह लामो समय टिकेन। स्थानीय अधिकारीहरूले नांगेली र उनका श्रीमानलाई शरीरको माथिल्लो भाग ढाकेवापतको कर तिर्न पटक-पटक दबाब दिए। दबाब सहन नसकेर नांगेली आफैँले आफ्ना दुवै स्तन काटेर केराको पातमा राखी स्थानीय अधिकारीलाई बुझाइन्। उनको तत्कालै मृत्यु भयो। नांगेलीको स्तनबाट बगेको रगतले केरेलामा विद्रोहको सुरुवात गर्‍यो। त्यसमाथि, उनकै चितामा देह त्याग गरेर उनका श्रीमान् चिरुकण्डनले कथित उपल्लो जात र सत्तालाई चुनौती थपिदिए।

स्तन कर र राज्यको विरोधमा पटक-पटक आन्दोलन भए। विद्रोहमा केही उच्च जातका महिला र गैरदलित पुरुषहरूको सहभागिता भयो। सहज थिएन विद्रोह। गुम्सा हट तोडिन ५ दशक लाग्यो। तर, नांगेली घटनाले समाजलाई जागरूक गरायो। तल्लो जातका महिलाहरू एकजुट भए। आफ्नो शरीर ढाक्न पाउनुपर्ने माग गर्दै ठूलो विद्रोह गरे। केरेलामा दलित महिलाको विद्रोह, आसपासका राज्यको दबाब र अंग्रेजको दबाबका कारण तत्कालीन नेतृत्वले सन १८५९ जुलाई २६ मा सबै महिलाले शरीरको माथिल्लो भाग ढाक्नपाउने निर्णय भयो।

आज सामाजिक सेवा दिवस। ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव’, ‘आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशीलता’ भन्ने मूल नाराका साथ समाज कल्याण परिषद्को अगुवाईमा देशव्यापी रूपमा ४१ औँ सामाजिक सेवा दिवस मनाइराखिएको छ। समाज र सामाजिक सेवाको विषयमा कलम चलाउँदै गर्दा यहाँ कायम रहेको विभेद, अन्याय, अत्याचार, शोषण र दमनको विषयहरू साथै जोडिएर आउँछन्। समाजलाई रुपन्तरण गर्न, समाजलाई शिक्षित बनाउन, समाजलाई सभ्य बनाउन नेपालमा पनि थुप्रै सामाजिक आन्दोलनहरू भए। धेरै सामाजिक अभियानताहरु जन्मिए। प्रभाव कस्तो रह्यो त ? हामी सामाजिक अभियानताको भूमिका कस्तो रह्यो ? विभेद, अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउन हामीले नांगेलीको स्तरमा काम गर्न सक्यौं कि सकेनौं ?

नेपाली समाजमा विद्यमान जातीय विभेदको विषयलाई केलाउने हो भने तत्कालीन केरेलाको समाज र अहिलेको समाजमा कुनै फरक देखिन्न। राज्यले औपचारिक घोषणा नगरेको मात्र हो, दलित समुदायलाई पाइला पाइलामा कर तिरेजस्तै अनुभूति छ। पाइला पाइलामा नङ्ग्याइने शैलीकै विभेद छ। पाइला पाइलामा शरीरको स्तन काटिएजस्तै अन्याय र अत्याचार छ। शोषण छ। दमन छ। समाज शिक्षित भयो होला भन्यो, परिवर्तन होला भन्ने कल्पना गर्‍यो। पिटिक्कै शिक्षित छैन समाज, परिवर्तन भएकै छैन। विभेदको नाममा शैली मात्र फेरियो। हिजो केरेलामा स्तन खुल्ला राख्ने आदेश दिइयो, नेपालमा छुन, हेर्न र बाटो काट्न वञ्चित गरियो। मन्दिर प्रवेशमा रोक लगाइयो। घर प्रवेशमा रोक लगाइयो। विषयहरू उस्तै–उस्तै हुन्। स्वरूप उस्तै-उस्तै हो। केही फरक छैन। त्यसकालागि आन्दोलन ? त्यसका लागि विद्रोह ? सामाजिक रुपान्तरणकालागि अभियान ? शैली ? त्याग ? अनि, निरन्तरता ?

वि.सं. २००३ सालमा पहिलो पटक भगत सर्वजीत विश्वकर्माले दलित मुक्तिको लागि आन्दोलन गरे नेपालमा। नेपालमा सामाजिक आन्दोलनको पहिलो औपचारिक विद्रोह थियो सर्वजीतको। उनले विश्व सर्वजन संघ नामक संगठन स्थापना गरे। छोएको आधारमा कुटपिट गर्नेसँग प्रतिवाद गरियो। उक्त घटनाले समाजलाई थोरै झकझक्यायो। दलितहरूको पनि व्रतबन्ध हुन थाल्यो। मन्दिरमा प्रवेश गर्न दिइयो। सहभोजका कार्यक्रमहरू सुरु भए। नेपालमा काँग्रेस पार्टीको २००४ र नेकपाको २००६ सालमा स्थापना भएको। राजनीतिक दलहरूको स्थापना हुनुभन्दा अघिबाट सुरु भएको नेपालको दलित आन्दोलन अहिले कहाँ पुग्यो त ? कस्तो शैलीमा निरन्तरता पायो त ?

त्यसयता धेरै व्यवस्था फेरिए। धेरै सरकार फेरिए। नीति फेरियो। कार्यक्रम फेरियो। समाजको स्वरूप फेरियो। तर, विभेद फेरिए। विभेदको शैली थोरै फेरियो। सोच फेरिएन। संस्कार फेरिएन। कारण ? नेपालमा सामाजिक परिवर्तनको लागि सर्वजीतपछि कसैले आन्दोलनको नेतृत्व गर्नै सकेनन्। नेपाली समाजमा विभेद, अन्याय र अत्याचार विरुद्ध साँच्चिकैको आन्दोलन हुनै सकेन। अहिलेसम्म।

भेदभाव मानिसको मानसिकतासँग जोडिएको विषय हो। जबसम्म मानिसको दील, दिमाग, मन र मनस्थिति परिवर्तन हुँदैन, तबसम्म भेदभाव अन्त्य हुने र सामाजिक रूपान्तरणको विषय निकै कठिन बन्छ। मान्छेले मान्छे छुँदा गंगास्नान गरेर चोखिनुपर्ने कुप्रथा र अन्धविश्वासहरूलाई समाजले संस्कार बनायो। इज्जतसँग जोड्यो। पहिचानसँग जोड्यो। भेदभावलाई पूर्व जन्मको कमाई र भाग्यवादसँग जोडेर दलित समुदायलाई तल्लो स्तरको र नीच व्यवहार भइरहेको छ। सुकिलो मुकिलो देखेपछि ‘तपाई’ सम्बोधन गर्ने कथित उपल्लो जातका मानिसहरू दलित भन्ने जानकारी पाए लगत्तै ‘तँ’ र ‘तिमी’मा झर्छन्। म आफैँ कयौंपटक प्रताडित भएको छु।

सामाजिक आन्दोलनमा होमिएका गैरदलित नेतृत्वहरुले सामाजिक रूपान्तरणका मुद्दालाई उठाइरहेका छन्, शब्दमा। व्यवहारिक रूपमा उनीहरूले आफ्नो परिवारलाई समेत बुझाउन सकेनन्। कोसिस नै गरेको देखिँदैन। आज पनि भेदभावको विरुद्ध कार्यक्रमहरू हुन्छन्। दर्जनौं संघसंस्थाहरु मैदानमा छन्। अधिकांशको नेतृत्व गैरदलितले गरेका छन्। तर, सबै कार्यक्रमहरू उपभोक्तावादी चिन्तनबाट ग्रसित भएको देखिन्छ। परिवर्तनको अपेक्षा नै गरिएको हुँदैन। व्यक्ति आफैँ परिवर्तन हुन चाहँदैन। आफ्नो सोचलाई समयअनुकुल बनाउन सक्दैन। सर्वजीतले २००३ मा गरेको सामाजिक आन्दोलनको फोटोकपी आज पनि सामाजिक अगुवाहरूबाट भइरहेको छ। सबै कर्मकाण्डि। देखाउनका लागि। परम्पराको निरन्तरता मात्र। आज पनि समाजमा सहभोजका कार्यक्रमहरू कतैकतै हुन्छन्। सबैलाई बोलाइन्छ। थोरै गैरदलितहरुको उपस्थिति हुन्छ। उपस्थितमध्ये ५ प्रतिशतले पनि सहभोजमा प्रत्यक्ष सहभागिता जनाउँदैनन्। भोज खाने समय छलिएर हिँड्छन्। बाहना बनाउँछन्।

विडम्बना, सामाजिक आन्दोलनको नेतृत्व गरिरहेकाहरूलाई सहभोजको शैली परिवर्तन गरेर सपरिवर सहभोज गरौँ भन्दा विरोध हुन्छ। सम्भव छैन भनिन्छ। अस्वीकार गरिन्छ। त्यसको अर्थ, संविधान कानुनले दिएका अधिकारहरूसमेत वास्ता गरिँदैन। ती सामाजिक रूपान्तरणको अभियानमा लागेका गैरदलितहरु दलित र गैरदलितबीच मागी विवाह गर्न तयार छन् ? सार्वजनिक मन्दिरहरूमा दलितलाई पुजारी राखौं भन्न तयार छन् ? आज पनि समाजमा गैरदलितको मृत्यु हुँदा दलितलाई बोक्न दिइँदैन। गैरदलितको शव दलितले छुनहुन्छ भनेर व्यवहारिक प्रयोग गराउन अभियानताहरु तयार छन् ? सार्वजनिक कार्यक्रमहरू जस्तै विवाह, व्रतबन्धमा दलितलाई छुट्टै खुवाउने प्रचलन तोड्न तयार छन् ? सामाजिक रूपान्तरणका लागि लागेका गैरदलितहरुसँग आज पनि यस प्रकारका प्रश्नहरूको कुनै जवाफ छैन। यी अनुत्तरित प्रश्नहरूको जवाफ भविष्यको गर्वमै छ।

दुई पक्षले सामाजिक दृष्टिकोण परिवर्तन हुन सकेन। पहिलो, सामाजिक आन्दोलनका शैलीहरू हिजो जस्तो थिए त्यस्तै मात्र भए। समय अनुकूल परिवर्तन हुन सकेनन्। कार्यक्रम र शैलीहरू नयाँ आउन सकेनन्। दोस्रो, सामाजिक अभियान्ता भनिएकाहरू आफैँ परिवर्तन हुन सकेनन्। परिवर्तनका लागि माथिल्लो तहबाट सोचिएन। हाम्रो पुस्ताले विभेदको कारण सामाजिक संरचना भन्दै गर्दा परिवर्तन कसले थाल्ने ? धार्मिक र सामाजिक अन्तरघुलन कहाँबाट सुरु गर्ने ? कसले सुरु गर्ने ? २०४६ सालयता परिवर्तनका लागि सर्वजीतजस्ता हजारौँ व्यक्ति अघिसरे। सयौँ संघसंस्थाहरु खुले। तर, भएका दुईचार सकारात्मक कर्मको पनि अनुसरण गर्न सकिएन। हिजो महानन्द सापकोटा र छविलाल पोखरेल जस्ता विद्वान पण्डितले गरेको सामाजिक परिवर्तनलाई कसैले पनि संस्थागत गराउन सकेनन्।

सामाजिक अभियान र आन्दोलनलाई जीविकोपार्जनसँग जोड्ने, लाभ र हानीको कुरा गर्नेहरूलाई कसी (ढुंगो)मा घोट्ने समय आएको छ। कसीमा घोट्दा चौबीस क्यारेट ठहरिनेहरूलाई पुरस्कृत गरिनुपर्छ। सामाजिक अन्तरघुलनका निम्ति थप योजना बनाउन उनीहरूलाई हौसला दिनुपर्छ। कसीमा घोट्दा नक्कली ठहरिनेहरूलाई दण्डित गरिनुपर्छ। नालायक घोषणा गर्नुपर्छ। यदि यसो गर्न सकियो भने नेपालको सामाजिक आन्दोलनलाई नयाँ सीराबाट अगाडि बढाउन सहज हुनेछ । आन्दोलनको समीक्षा गर्ने वास्तविक ‘प्लेटफर्म’ बन्नेछ र बनाउनु अनिवार्य भएको छ। अन्यथा, चानचुने र टालटुले सुधारका अभियानहरू निरन्तर अघि बढिरहे भने नेपालका सामाजिक आन्दोलनहरू दीगभ्रमित हुने बाटोबाट मुक्त हुने छैन।

समाज रूपान्तरणका लागि आफ्नो ठाउँबाट सबैले काम गर्नुपर्छ। नत्र सामाजिक अन्तरघुलन सम्भव छैन। त्यसो त, परिवर्तनको कल्पना गर्दै खोलिएका सामाजिक संघसंस्थाहरु राजनीतिक दल जति पनि समावेशी हुन सकेनन्। प्रोजेक्ट हुन्जेल चहलपहल गर्ने, सकिएपछि तटस्थ बस्ने। नियत नै खराब देखियो। परियोजनाका लागि मात्र बोल्ने, नत्र नबोल्ने। यसले नेपालमा सामाजिक संघसंस्थाबाट सामाजिक विभेद अन्त्य गर्ने वा सामाजिक अन्तरघुलनलाई व्यवहारमा ल्याउन योगदान दिन सकिँदैन कि भन्ने प्रश्न जटिलरुपमा उठेको छ। धार्मिक र सामाजिक अन्तरघुलनलाई व्यवहारमा ल्याउन दलित गैरदलित सबैले बुझ्न आवश्यक छ। धर्ममा विभेद गरिएको छैन भने त्यसको पुष्टि गराउन सबै लाग्ने कि नलाग्ने ? मान्छे मान्छे एउटै हो भने फरक जातबीच अन्तरघुलन गर्ने कि नगर्ने ?

आज पनि समाजमा विभेद बढ्दो क्रममा छ। पुरानो पुस्ताले विभेद अनि छुवाछुतलाई काखमा खेलाउँदै आयो। फ्याल्नै चाहेन। पछिल्लो पुस्तामध्ये अधिकांशमा विभेदकै रगत मिसिएको छ। दलितसँग पुग्दा ‘तपाईँलाई अन्याय भइरहेको छ’ भनिन्छ। गैरदलितसँग पुग्दा ‘अहिले नै दलितहरूलाई माथि उठाइहाल्नु हुँदैन, साइजमै राख्नुपर्छ’ भनिन्छ। केही अध्ययन गरेका अनि बुझेका व्यक्तिहरू तटस्थ बस्छन्। त्यसबाहेक अत्यन्तै थोरै संख्यामा रहेका व्यक्तिहरू साँच्चिकै सामाजिक रूपान्तरणको पक्षमा छन्। विभेदलाई अन्याय र अपराधसँग तुलना गर्दै त्यसविरुद्ध लड्नुपर्ने मन्द मन्द आवाज उठाउँछन्। साँचो अर्थमा सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने हो भने गैरदलित समुदाय भित्रको पहिलो र दोस्रो पुस्ताको सोच परिवर्तन गर्नका लागि विभेदविरुद्ध आवाज उठाइरहेको तेस्रो पुस्तासँग सहकार्य गर्दै अन्तरघुलन उपयुक्त विकल्प हो।

तत्कालीन केरेलामा नांगेलीले गरेको विद्रोहलाई नै अन्त्य मानिन्थ्यो भने सायद अहिले पनि त्यहाँको समाज त्यस्तै हुन्थ्यो। नांगेलीको त्याग पश्चात् समाज उठ्यो। समाज जागरूक भयो। दलितले मात्र होइन, गैरदलित समाजले पनि विभेद भइरहेको अनुभूति गर्‍यो। सहज ढंगले परिवर्तन कहिल्यै हुँदैन। पाँच दशकसम्म ठूलो आन्दोलन भयो। तर, ढिलो भए पनि परिवर्तन संस्थागत भयो। अर्की नांगेलीले स्तन काट्नु परेन। चारुकण्डनले जिउँदै सती जानु परेन। नेपालमा जातीय विभेद र छुवाछुतको सन्दर्भमा पनि यस्तो आन्दोलन, यस्तो विद्रोहको परिकल्पना गर्नुपर्‍यो कि, यसले सिंगो समाजलाई जुरुक्क उठाओस्। श्रम, सीप चल्ने तर पानी नचल्ने विषय सधैँका लागि अन्त्य होस्। शारीरिक शोषण चल्ने, विवाह नचल्ने संस्कारमा परिवर्तन आओस्। एउटा जातले अर्को जातलाई, एउटा व्यक्तिले अर्को व्यक्तिलाई सम्मान र माया गर्न सिकोस्। यो आवाज, यो विद्रोह, यो आन्दोलनको नेतृत्व यहाँ कार्यरत सामाजिक संघसंस्थाहरुले गर्न सकुन्। सामाजिक सेवा दिवसको अवसरमा सच्चाईलाई आत्मसाथ गर्दै यो अभियानमा अहोरात्र क्रियाशील सम्पूर्ण अभियानताहरुमा हार्दिक शुभकामना।

लेखक गैसस महासंघका केन्द्रीय सचिव हुन् ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्