अब धरहरा तन्नेरी मात्र हाेइन, वृद्धाहरु नि चढ्नेछन् : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै अब चाँडै धरहराको टुप्पोबाट काठमाडौं हेर्न पाइने बताएका छन् ।

बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपटक धरहराको टुप्पोमा जवानहरू मात्रै होइन बुढापाकाले पनि चढ्न सक्नेछन् । पहिलाको धरहरामा म आफैँ चढ्न पनि समस्या परेको थियो ।’

‘हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं,’ उनले भने, ‘हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’

उनले अबको धरहराले परम्परा र आधुनिकता दुवैको झल्को दिने बताए । धरहरा आउँदा पहिला जामको समस्या हुने गरेको उल्लेख गर्दै उनले भने, ‘यसपटक धरहराको टुप्पोमा जवानहरू मात्रै होइन बुढापाकाले पनि चढ्न सक्नेछन् ।’ पहिलाको धरहरामा म आफैँ चढ्न पनि समस्या परेको थियो ।

प्रधानमन्त्री ओलीले २०७२ फागुनमा ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरेको थिए तर त्यो अभियान प्रभावकारी हुन सकेको थिएन ।

प्रधानमन्त्रीले भत्किएको पुरानो धरहराको छेउमा पूजापाठ गरेर इटा राखेर शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीका अलवा नेकपा अध्यक्ष प्रचण्ड, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मात्रिका यादव, पर्यटनमनत्री रविन्द्र अधिकारीलगायत सहभागी थिए ।

अब बन्ने नयाँ धरहराका लागि सरकारले २९ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ । जहाँ म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुने बताइएको छ ।