नेकपाको एकता दश दिनमा टुंगिने, कस्तो आउँदैछ प्रस्ताव ?

nekapa sachibalaya
  • 299
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले पार्टी एकताका कामलाई पूर्णता दिन अध्यक्षद्वय केपी शर्मा ‌‌ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेललाई जिम्मा दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले सांगठनिक एकताको ठोस प्रस्ताव १० दिनमा ल्याउने जिम्मा दुई अध्यक्ष र महासचिवलाई दिएको हो।

‘सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्न गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष र महासचिवले ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका आधारमा सांगठनिक एकीकरणको विषयमा टुंगो सचिवालयले लगाउने छ।’

आइतबार पेरिसडाँडामा भएको सचिवालय बैठकमा प्रस्तुत भएको कार्यसूचीभित्र रहेर दुई दिनभित्रै अर्को बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकको निर्णय कार्यान्वयनका सन्दर्भमा सकारात्मक छलफल गरेको प्रवक्ता श्रेष्ठले बताए। ‘पार्टी एकता र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्ध मजबुत बनाउने, सरकारको विश्वसनीयता अझ बढाउने विश्वास व्यक्त गर्दै बैठक समापन भएको छ’, प्रवक्ता श्रेष्ठले भने।

नेकपाभित्र एकताको तीन महिनामा सांगठानिक एकता टुंगाउने सहमति भए पनि हालसम्म कैयौं संगठनात्मक एकताको काम बाँकी नै छ। मुख्यतः विशेष कमिटी, प्रवासका पार्टी कमिटीहरुमा एकताको काम सकिएको छैन। त्यसैगरि जनवर्गीय संगठनको एकताको काम पनि टुंगिएको छैन।

चैत्रमा महाधिवेशन गर्ने तयारी गरिरहेको नेकपाका निम्ति एकताको काम टुंगाउनैपर्ने दवाव बढेको छ। असोजभित्र पार्टी एकताको काम टुंगाउन नसके चैत्रमा महाधिवेशनमा हुन कठिन हुने भएकाले नेताहरु एकता टुंगाउने कसरतमा जुटेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्