वामदेव गौतमको मनोनयनविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश

Bamdev Gautam
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको मनोनयन संविधान विपरीत भएको भन्दै दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, ‛वर्तमान संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक यस अदालतमा प्रस्तुत गरिएकोबाट यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्त्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ। तसर्थ विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्त्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो नलागेसम्म थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नू, नगराउनू।’

२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई १ असोजमा राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। गौतम २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।

रिटमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र त्यसबाट निसृत सम्पूर्ण प्रक्रिया बदर गर्न माग गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्